चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका पर्यटक गैंडाको आक्रमणबाट घाइते
चितवन राष्ट्रिय निकुञ्ज भित्र गैंडाको आक्रमणबाट दुई जना घाइते भएका छन्। घाइतेमध्ये एक जना विदेशी नागरिक र एक जना नेपाली गाइड रहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले जनाएको छ। जंगल वाकका लागि विहान ८ बजे निकुञ्ज भित्र गएका उनीहरु माथि गैंडाले आक्रमण गरेको हो। सौराहाबाट करिब ६ किलोमिटरभित्र दुधौरा भन्ने ठाउँमा सो घटना भएको जानकारी कार्यालयका प्रमुख वेदकुमार ढकालले अनलाइनखबरलाई जानकारी दिए।
घाइते विदेशी नागरिकको अवस्था चिन्ताजनक रहेको जनाइएको छ। नाम भने खुलेको छैन। उद्धारका लागि निकुञ्जको टोली त्यसतर्फ गएको छ। जंगल वाकमा कति जना गएका थिए भन्ने खुलेको छैन। अन्यको अवस्थाका बारेमा पनि जानकारी नपाएको निकुञ्ज प्रमुख ढकालले बताए। कुनै होटलबाट नभई गाइड कार्यालयसँग सम्पर्क गरेर उनी निकुञ्जभित्र गएका थिए।