राष्ट्रिय क्रिकेटः मधेश र बागमति प्रदेशको जित
धनगढीः मधेश प्रदेश र बागमती प्रदेशले धनगढीमा जारी सुदुरपश्चिम १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन्।
सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा भएका खेलमा जित हात पार्दै मधेश र बागमतिले पहिलो जित दर्ता गरेका हुन्। फाप्ला मैदानमा भएको पहिलो खेलमा मधेशले लुम्बीनीलाई ११ रनले हरायो भने दोस्रो खेलमा बागमतीले गण्डकीलाई २८ रनले हरायो।
सोमवारको पहिलो खेलमा मधेशले पहिले ब्याटिङ गर्दै खराब मौसमका कारण २८ ओभरमा झारिएको खेलमा ७ विकेट क्षतिमा १४१ रन बनायो। मधेशका लागि अभिषेक तिवारीले अर्धशतक सहित ५७ र निरज यादवले पनि अर्धशतक सहित ५० रन बनाए। लुम्बीनीका सागर गैरे र आशिष ओलीले दुई दुई विकेट लिए। प्रतिउत्तरमा लुम्बीनी प्रदेशले निर्धारित ओभरमा ७ विकेट क्षतिमा १३० रन मात्रै बनाउन सक्यो। यसका लागि प्रतिक भट्टराईले ३८ रन र सन्दीप यादवले २५ रन बनाए। मधेशका लागि सलमान मंन्सुरी र रोशन शाहले दुई दुई विकेट लिए। ५७ रनको अर्धशतकीइ पारी खेलेका मधेशका अभिषेक तिवारी प्लेयर अफ द म्याच भए । उनले नगद दुई हजार प्राप्त गरे।
आजकै दोस्रो खेलमा बागमतिले पहिले पहिले ब्याटिङ गर्दै खटाईएको २३ ओभरमा १४० रन बनायो। बागमतिका लागि रोशन विकले ५६ रनको अर्धतशकीय पारी खेल्द जोय थापा २७ र निश्चल श्रेष्ठले २३ रन जोडे। गण्डकीका लागि रोहित चन्दले ह्याट्रिक सहित ३ विकेट लिए । उनले २१.२, २१.३ र २१.४ ओभरमा ह्याट्रिक लिएका हुन्।
प्रतिउत्तरमा गण्डकीले निर्धारित ओभरमा ६ विकेट क्षतिमा ११२ रन मात्रै बनाउन सक्यो। उसका लागि विज्ञान पाण्डेयले ४० रन, सुप्रीम सुनार र अनिश ताम्राकारले १४/१४ रन बनाए । बागमतिका लागि सार्थक धितालले दुई र रोशन विकले एक विकेट लिए। ५६ रन सहित एक विकेट लिएका बागमतीका रोशन विक प्लेयर अफ द म्याच भए । उनले नगद दुई हजार प्राप्त गरे।
प्रतियोगिता अन्तर्गत भोली दुई खेल हुनेछन्। पहिलो खेलमा मधेश प्रदेश र कर्णाली प्रदेश तथा दोस्रो खेलमा कोसी प्रदेश र गण्डी प्रदेश प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन्। त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन्।
नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरेको हो। एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ।