सनराइज बैङ्कद्वारा जिल्ला अस्पताल बझाङलाई डिजिटल घडी हस्तान्तरण
धनगढीः सनराइज बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जिल्ला अस्पताल बझाङलाई स्वचालित डिजिटल घडी हस्तान्तरण गरेको छ।
बैङ्कले अस्पतालमा आउने बिरामीलाई मिति, समय र तापक्रम थाहा पाउन सहज होस् भनेर डिजिटल घडी हस्तान्तरण गरेको हो। सनराइज बैङ्क बझाङका प्रमुख नवराज मिश्रले अस्पतालमा आउने सेवाग्रहीको सहजतालका लागि घडी प्रदान गरिएको बताए।
अस्पतालको भुइँ तलामा रहेको भित्तोमा घडी जडान गरेर अस्पताल विकास समितिका अध्यक्ष सोनु सिंह र निमित्त कार्यालय प्रमुख दिलबहादुर गुर्धामीलाई संयुक्त रुपमा घडी हस्तान्तरण गरिएको हो।
घडी हस्तान्तरण कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष सोनु सिंह , अस्पतालका आकस्मिक कक्ष प्रमुख जनक सिंह , बैङ्कका शाखा प्रमुख नवराज मिश्र र बैङ्कका कर्जा सहायक लक्ष्मण सिंहको उपस्थिति रहेको थियो। घडी जडान भएपछि अस्पतालको तर्फबाट बैङ्कलाई धन्यवाद ज्ञापन गरिएको थियो। सनराइज बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हरेक वर्ष जिल्लाका विभिन्न सामाजिक सङ्घ संस्थालाई सहयोग गर्दै आएको छ।