सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीमा उपचार उपकरण प्रयोगविहीन, आइसियु बेड समेत थन्क्याइयो

२०८० वैशाख ६, ११:४४ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पतालमा उपचार उपकरण नै प्रयोगमा नआएको पाइएको छ। अस्पतालमा नेपाल सरकार र समितितर्फ गरी कुल एक सय २५ बेड क्षमता स्वीकृत रहेकोमा ३ सय ७ बेड सञ्चालनमा छन्। अस्पतालको जिन्सी निरीक्षण प्रतिवेदनमा ४२ थान सेट बेड मौज्दात रहेकोमा तीन सय ६८ थान बेड सञ्चालनमा रहेको उल्लेख छ।

सो बाहेक अस्पतालको माग नभए पनि केन्द्रबाट प्राप्त सामग्रीमध्ये ७९ जनरल, ५० आइसियु, २५ पेडियाट्रिकसमेत एक सय ५४ थान बेड मौज्दात रहेको देखिएको छ।  अस्पतालको स्टोरमा स्थान अभावका कारण विभिन्न निकायबाट प्राप्त जनरल तथा आइसियु बेड समेत स्टोरमा प्रयोगविहिन अवस्थामा छन्।

साथै अस्पतालमा रहेका दुई थान पोर्टेवल भेन्टिलेटर, ८ भेन्टिलेटर, ९ हेमोडाइलासिस, दुई भिडियो एक्सरे, २७ सिरिन्ज पम्प, ५ मोनिटर, १५ इन्फ्युजन पम्प, २० अक्सिजन कन्सन्ट्रेटर समेतका विभिन्न सामग्री प्रयोगविहिन अवस्थामा रहेको पाइएको हो।  स्वास्थ्य उपचारमा आवश्यक यस्ता मुल्यवान स्वास्थ्य उपकरण तथा मेसिनरी प्रयोगमा ल्याउने तथा तालुक निकायले समेत आवश्यक सामग्री मात्र हस्तान्तरण गर्नुपर्ने महालेखा परिक्षकको कार्यालयले जनाएको छ।

बिरामीका लागि आवश्यक बेड र उपचार उपकरण थन्क्याएर राखेपछि उपचारमा थप सास्ती खेप्नु परेको छ। बेड नपाउने समस्याबाट उपचारका लागि कुर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतर्फ भएका बेड थन्क्याएर राख्दा बिरामीप्रति अस्पताल प्रशासन गम्भीर बन्न नसकेको विषयलाई पुष्टि गरेको सरोकारवाला बताउँछन्।

कमेन्ट लोड गर्नुस