सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुडानमा लडाई, ५६ जनाको मृत्यु

२०८० वैशाख ४, ०७:१५ खबर संवाददाता

सुडानमा शनिवारदेखि चलिरहेको लडाइँमा परि अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ। सेना र अर्धसैनिक बल (आरएसएफ) बीच भएको लडाइँमा अरू छ सय जना घाइते भएका बीबीसीले जनाएको छ। राजधानी खार्तुममा राष्ट्रपतिको कार्यालय, सरकारी टेलिभिजन र सेनाको मुख्यालयमा आक्रमण भएको छ।

डार्फर क्षेत्र लगायतमा पनि लडाइँ चलिरहेको छ। राजधानी खार्तुम सहरको आकाश धुवाँले भरिएको छ। सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ। सुडानमा नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाको विषयमा विवाद रहेको छ। सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन्।

नागरिक नेतृत्वको सरकारको प्रस्तावमा आरएसएफलाई राष्ट्रिय सेनामा समायोजन गर्ने तालिका बनाएको छ। आरएसएफले समायोजन १० वर्षपछि गर्न चाहे पनि सेनाले दुई वर्षभित्र सक्नुपर्नेमा जोड दिएपछि तनाव बढेको बीबीसीले जनाएको छ। प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने कुरामा पनि सेना र आरएसएफबीच विवाद छ।

कमेन्ट लोड गर्नुस