सहजपुर–बोगटान सडकको नयाँ ठेक्का गर्न एक अर्बको सहमति
धनगढीः कैलालीको सहजपुरदेखि डोटीको दीपायलसम्म जोड्ने सडक कालोपत्रका लागि सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक अर्बको ठेक्का सम्झौताका लागि सहमति दिएको छ।
डोटीको दीपायलदेखि २८ किलोमिटरसम्म तीन खण्डमा सडक कलोपत्रका लागि सम्झौता गरिएको छ। साथै बासुदेवदेखि मडघरसम्म २० किलोमिटर सडक कालोपत्र गर्न ठेक्का प्रक्रियामा रहेको प्रदेश सरकारले जनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार कार्यालय डडेल्धुराले बहुवर्षीय अन्तरगत नयाँ सडक कालोपत्रका लागि ठेक्का सम्झौताको प्रक्रिया थालेको छ।
पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख नवराज रावलले तीन वर्षीय कार्यक्रमका लागि एक अर्बको सहमति पाएको बताए। उनले भने, ‘तीन वर्षको कार्यक्रम हो। एक अर्बको सहमति छ।’ सहजपुर–बोगटान–दीपायल सडकको नयाँ ठेक्काको प्रक्रिया सुरु भएको छ। कैलालीको सहजपुरदेखि डोटीको दीपायलसम्मको सडकको गत वर्ष ट्रयाक निर्माणको काम पूरा भएको थियो।
प्रदेश सरकारले दीपायल क्षेत्रमा १० किलोमिटर सडक कालोपत्रको कामसमेत पूरा गरेको छ। १७ किलोमिटर सडक कालोपत्रको काम जारी छ। नयाँ थप २० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौताको प्रक्रिया थालिएको हो। दीपायलदेखि १० किलोमिटर सडक कालोपत्र गरिएको छ। १० किलोमिटर असारसम्म कालोपत्रको काम पूरा हुँदैछ।
गत असारमा ७ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का गरिएको थियो। वाइलसम्म सडक कालोपत्रको काम जारी छ। वासुदेवदेखि मडघरसम्मको २० किलोमिटर सडक कालोपत्रका लागि नयाँ ठेक्काको प्रक्रिया थालिएको हो। प्रादेशिक गौरवको सडकमा समावेश गरिएको सो सडक कालोपत्रका लागि नयाँ ठेक्का सम्झौता हुने बताइएको छ। रावलले भने, ‘संघले ५० किलोमिटर कालोपत्र गरेको छ।
काम अहिले पनि जारी नै छ। हामीले २७ किलोमिटर कालोपत्र गरेका छौ। १० किलोमिटरको काम पूरा भएको छ। १० किलोमिटर असारसम्म हुन्छ। सात किलोमिटर गत असारमा ठेक्का गरेका छौ। यो पटक २० किलोमिटर कालोपत्रका लागि ठेक्का गर्छाै।’
सहजपुरदेखि अत्तरकाँडासम्मको ५० किलोमिटर सडक संघीय सरकारले कालोपत्र गर्दै छ।
२०३८ सालमा सम्पन्न ‘राष्ट्रिय पञ्चायत’को निर्वाचनदेखि चर्चामा आएको उक्त सडकको निर्माण कार्य २०४३ सालदेखि सुरु भएको थियो। कैलालीको सहजपुरबाट सुरु भएको सडक वीपिनगर, अत्तरकाँडा, सिमचौर, लाना, चवराचौतारा, गगुुडा, तिखात्तर, बासुदेवी, वायल, रानागाउँ हुँदै राजपुर दीपायलसम्म छ। संघीय सरकारले ५० किलोमिटर कालोपत्र थालेको उक्त सडकको प्रदेश सरकारले ४८ किलोमिटर कालोपत्र गर्ने भएको हो।
बिचको भाग फेरि संघीय सरकारले कालोपत्रका लागि प्रक्रिया थालेको छ। २०४३ सालमा कैलालीका पहाडी क्षेत्रका सहजपुर र निङालीसहित डोटीका साबिकका १० गाविस जोडेर दीपायल पुग्ने गरी यो सडकको तत्कालीन जिल्ला विकास समिति डोटीका सभापति भरतबहादुर खड्काले शिलान्यास गरेका थिए। तर सहजपुरदेखि अत्तरकाँडासम्मको ५० किलोमिटर सडक कालोपत्र गर्न २०७५ फागुन ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।