सेतीमा निःशुल्क उपचार सेवा बन्द, बिरामीलाई निजीमा पठाउने होडबाजी
धनगढीः बैतडीकी सरस्वती भट्ट गत फागुन अन्तिम साता सेती अस्पतालमा पाइल्सको उपचार गराउन गइन्। अस्पतालको काउन्टरमा टिकट काटेर ओपिडीमा जाँदा त्यहाँ रहेका चिकित्सकले उनको समस्याको बारेमा सोधपुछसम्म गरेनन्। ओपिडीमा रहेका चिकित्सकले दुई किसिमको औषधि लेखेर उनलाई अर्को दिन महिला साथी लिएर आउन सल्लाह दिए।
भट्टले चिकित्सकले लेखेको औषधि पनि अस्पताल फार्मेसीबाट पाएनन्। स्वास्थ्य बिमा गरेको भए पनि उनले धनगढीको निजी अस्पतालमा गएर उपचार गराएकी हुन्। त्यस्तै, बझाङको खप्तडछानन्ना–३ की रचना रावलको पित्तथैलीमा स्टोनको शल्यक्रिया गर्न मालाखेती अस्पतालबाट सेतीमा रेफर भएर आए।
तर, सेतीमा रावलको शल्यक्रिया गर्ने पालो डेढ वर्षपछि आउने भनिएपछि उनको पनि निजी अस्पतालमै शल्यक्रिया भयो। सेतीमा अन्य उपचार समयमै भए पनि शल्यक्रिया गर्ने पालो डेढ वर्षपछि आउने भनेपछी निजीमा गएर शल्यक्रिया गराएको रचनाका पति नविन रावलले बताए। ‘सेतीमा अन्य उपचार समयमै भयो तर शल्यक्रिया गर्ने पालो डेढ वर्षपछि आउने भयो,’ उनले भने, ‘सेतीमा पालो नआउने भएपछि निजी अस्पतालमा शल्यक्रिया गराए। मेरो पनि स्वास्थ्य बिमा छ।’
बिरामीलाई निजीमा पठाउँछन सेतीका कर्मचारी
कञ्चनपुरको भीमदत्त नगरपालिकाको मझगाउँका ८५ वर्षीय केशवसिंह विष्टको स्वास्थ्यमा समस्या देखिएर महाकाली प्रादेशिक अस्पतालमा भर्ना भए। परीक्षण गर्दा उनको प्रोष्टेटको शल्यक्रिया गर्नुपर्ने देखियो। महाकालीमा शल्यक्रिया नहुने भएपछि बिष्टलाई सेती प्रादेशिक अस्पताल रेफर गरियो।
सेतीमा प्रोष्टेटको शल्यक्रिया नहुने भन्दै सेतीका चिकित्सकले धनगढीको एक निजी अस्पतालको नामै तोकेर उपचार गर्न जान सल्लाह दिए। तर, नवजीवनमा पनि स्वास्थ्य बिमा छ भन्ने थाहा पाएर बिष्टका आफन्तले महाकालीमा गएर रेफर माग्दा पाएनन्। सरकारी अस्पतालबाट निजी अस्पतालमा रेफर गर्न नमिल्ने भन्दै नवजीवनमा उपचार गर्ने रेफर नदिएको गुनासो गर्दै केशवसिंहका आफन्त मानबहादुर बिष्टको छ।
‘महाकाली अस्पतालमा प्रोष्टेटको शल्यक्रिया हुँदैन भन्यो। त्यहाँबाट सेतीमा रेफर ग¥यो। सेतीमा पनि मेसिन बिग्रेको छ भनेर शल्यक्रिया भएन।,’ उनले भने, ‘महाकालीमा फेरि गएर नवजीवन अस्पतालका लागि रेफर माग्दा दिन मिल्दैन भनेर दिइएन।’
बिरामी उपचार सेवाबाट बञ्चित
शुक्रवार निजी अस्पतालमा प्रोष्टेटको शल्यक्रिया गराएका बिष्टको उपचार खर्च एक लाख २० हजार पुगेको छ। स्वास्थ्य बिमाबाट उपचार गर्न पाएको भए उनले एक लाख बराबरको खर्च तिर्नुपर्दैथ्यो। सेती र महाकाली अस्पतालले आफूले बिरामीको उपचार नगर्ने, बिमा लागु भएका निजी अस्पतालमा रेफर नगर्ने नीतिको चपेटमा न्युन आए भएका बिरामी पर्ने गरेका छन्।
तर, अस्पतालले कि बिरामीको आफैंले उपचार गर्नुपर्ने नत्र अन्य अस्पतालमा रेफर गर्नुपर्ने स्वास्थ्य बिमा बोर्डले जनाएको छ। बिमितले उपचार पाउने व्यवस्था गर्नु अस्पतालको कर्तव्य हुने स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेश संयोजक रमेशप्रसाद कुश्वाहले बताए। ‘अस्पतालहरूले बिमितलाई रेफर गर्न मिल्दैन भन्नु हुन्न। उहाँहरूले कि उपचार गर्नुपर्छ कि त रेफर गर्नुपर्छ।,’ उनले भने, ‘बिमितलाई उपचारबाट बञ्चित गर्न मिल्दैन।’
सेतीमा निःशुल्क उपचार सेवा बन्द
सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रूपमा रहेको सेतीले सामाजिक सेवा इकाइमार्फत विपन्न र लक्षित वर्गलाई दिने निःशुल्क उपचार सेवा बन्द गरेपछि विपन्न नागरिक मारमा परेका छन् । लक्षित वर्गलाई निःशुल्क उपचारका लागि आएको बजेट सकिएको र थप बजेट नआएको भन्दै अस्पतालले १७ माघदेखि निःशुल्क उपचार सेवा बन्द गरेको हो । गरिब, विपन्न, ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार दिने सरकारी नीति छ, तर अस्पतालमा निःशुल्क सेवा बन्द भएपछि विपन्न वर्गका बिरामी उपचार पाउनबाट वञ्चित भएका छन् ।