धनगढीमा प्रादेशिक आयुर्वेद चिकित्सालयको उद्घाटन
धनगढीः कैलालीको धनगढीमा प्रादेशिक आयुर्वेद चिकित्सालयको उद्घाटन गरिएको छ। बुधवार सुदूरपश्चिमका मुखयमन्त्री कमलबहादुर शाहले धनगढी उपमहानगरपालिका–१३ राजपुरमा रहेको आयुर्वेद चिकित्सालयको उद्घाटन गरेका हुन्। उनले चिकित्सालयको उद्घाटन गर्दै कर्मचारी व्यवस्थापन र सेवा विस्तारका काम गर्ने बताएका छन्।
धनगढीमा आयुर्वेदीक चिकित्सक उत्पादन गर्ने लक्ष्य रहेको समेत उनले बताए। धनगढीमा संघीय सरकारको बजेटमा सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वन इकाईमार्फत चिकित्सालय निर्माण गरिएको हो। २०७४ सालबाट ३४ करोडमा निर्माण सुरु भएको योजना २०७८ जेठ १५ गते प्रदेश सरकारलाई सञ्चालनका लागि हस्तान्तरण गरिएको थियो। काम पूरा भएको एक वर्षपछि मात्र भवन उद्घाटन गरिएको हो।
चिकित्सालयबाट वाथ रोग, नसा च्यापिएको, हड्डी खिइएको, पक्षघात र छाला सम्बन्धि समस्या भएका बिरामीको पञ्चकर्म–पूर्वकर्म आयुर्वेदिक पद्धतिअनुसार उपचार हुँदै आएको छ। सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले आयुर्वेद चिकित्सालयमा अभाव रहेको कर्मचारीको पदपूर्ति गर्न प्रदेश सरकारले भूमिका खेल्ने बताए। उनले चिकित्सालयको सेवा विस्तार र पूर्वाधार सुधार गरिने बताएका हुन्।
गत असोज ११ गतेदेखि प्रादेशिक आयुर्वेद चिकित्सालयले नयाँ भवनबाट उपचार सेवा सुरु गरेको थियो। प्रदेश सरकारबाट ५० शय्या सञ्चालनको स्वीकृति पाएको चिकित्सालयको ओएण्डएम गरिएको छ। चिकित्सालय सञ्चालनका लागि ७० जना कर्मचारी आवश्यक पर्ने भएपनि व्यवस्थापन गरिएको छैन्।