सुदूर नेपाललाई विश्वसँग जोड्दै

जौंबाट बिस्कुट बनाउने तालिम दियो  अपि हिमाल गाउँपालिकाले

२०७९ चैत्र २०, ०८:०६ खबर संवाददाता

दार्चुलाः दार्चुलाको एक पालिकाले स्थानीयलाई बिस्कुट बनाउँने तालिम दिएको छ।

जिल्लाको अपि हिमाल गाउँपालिकाले स्थानीय स्तरमा पाइने जौंबाट बिस्कुट बनाउने तालिम दिएको हो। स्थानीय १० जना उद्यमी महिलाहरुलाई बिस्कुट बनाउने सात दिने तालिम दिएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए। दुई महिना अघि व्यवसाय छनौट तालिम प्राप्त गरेका महिलाहरुलाई सीपमूलक तालिम दिइएको अध्यक्ष बोहराले बताए। यो तालिमपछि उद्यमशीलतामा नयाँ आयाम थपिएको अध्यक्ष बोहराले बताए।

बिस्कुट बनाउने तालिम दिएका महिलाहरुलाई उद्योग सञ्चालनका लागि गाउँपालिकाले उपकरण, मेसिन खरीदमा समेत सहयोग गर्ने जनाएको छ। स्थानीयस्तरमै रोजगारीको सिर्जना गर्ने र स्थानीय उत्पादनलाई बढावा दिने उद्देश्यसहित तालिम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष देवकी बोहराले बताइन्।तालिमका सहभागी महिलाहरुले आफूहरुलाई उद्यमतिर लाग्नका लागि सहज भएको बताएका छन्।

गाउँपालिकाको सहयोगमा आफूहरुले स्थानीय जौंबाट बिस्कुट बनाउने उनीहरुले बताएका छन्। उत्पादित बिस्कुटको बजारीकरणमा गाउँपालिकाले नै सहयोग गर्ने भएकाले थप सजिलो हुने महिलाहरुले बताएका छन्।


 

कमेन्ट लोड गर्नुस