सुदूरपश्चिमका एचआइभी संक्रमित थप पीडामा, सामाजिक सुरक्षा भत्ताको माग
धनगढीः सुदूरपश्चिमका एचआइभी संक्रमितले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने माग गरेका छन्। नियमित औषधि सेवन गर्नुपर्ने भएकाले सरकारले मासिक सामाजिक सुरक्षाभत्ता दिनुपर्ने माग संक्रमितहरुले गरेका हुन्। विभिन्न संघसंस्थाले गरेको अध्ययनले सुदूरपश्चिमका कुल एचआइभी संक्रमितमध्ये ४० प्रतिशत संक्रमित भारतमा मजदूरी गर्न जाने समुदायमा रहेको पाइएको छ।
एचआइभी स्रक्रमितले सरकारले औषधि उपलब्ध गराए पनि रोजगारी नपाइने भएकाले सामाजिक सुरक्षाभत्ता पाउनुपर्ने माग गरेका छन्। नियमित औषधि सेवन गर्दा स्वास्थ्य निकै कमजोर हुने भएकाले पौष्टिक आहारको व्यवस्था गर्न सरकारले भत्ता दिनुपर्ने संक्रमितहरूको माग छ।
एचआइभी संक्रमितको एकिन तथ्याङ्क तयार गरेर सरकारले नयाँ व्यक्तिमा संक्रमण हुन नदिन विशेष काम गर्नुपर्ने बताइएको छ। गरिवी र बेरोजगीरी भएको समुदायमा एचआइभी संक्रमण बढी देखिएकाले संक्रमितको उपचार, पोषण र बालबालिकाको शिक्षा र रोजगारीको प्रत्याभूति राज्यले गर्नुपर्ने अत्तरियाका मानबहादुर साउँदले बताए।
‘राज्यले संक्रमितको उपचार मात्रै गरेर पुग्दैन। विपन्न समुदायमा व्यक्ति संक्रमणको सिकार भएकाले राज्यले भत्ताको व्यवस्था गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘सामाजिक सुरक्षाभत्ता भइदियो भने राहत हुन्छ।’ सुदूरपश्चिमका एचाइभी संक्रमतिलाई सरकारले निःशुल्क औषधि प्रदान गर्दै आएको छ।
तर सबै संक्रमितले नियमित औषधि सेवन नगर्ने राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशले गरेको अध्ययनले देखाएको छ। विभिन्न एआरटी सेन्टरबाट औषधि सेवन गरिरहेका ३९९ जना औषधि सेवन गर्न नआएको पाइएको छ। यस्तै, सुदूरपश्चिममा कुल संक्रमितमध्ये ४० प्रतिशत संक्रमित भारतबाट रोजगारी गरेर फर्किएका व्यक्ति रहेको निड्स नेपालका प्रकाश मडैले बताए।
‘सुदूरपश्चिममा संक्रमितमध्ये ४० प्रतिशत भारतबाट फर्किएका व्यक्ति रहेको पाइएको छ,’ उनले भने, ‘भारतमा अक्सर कम आय भएका व्यक्ति काम गर्न जाने भएकाले विपन्न समुदायमा एचआइभी संक्रमण बढी छ।’ एचआइभी संक्रमितलाई निःशुल्क औषधि र संक्रमितका बालबालिकाको पढाई र पोषणका लागि सरकारले मासिक एक हजार पाँच सय दिने गरेको छ। संक्रमितको भाइरल लोड सेती प्रादेशिक अस्पतालमा परीक्षण हुने गरेको छ।