बैतडीको सुर्नयामा ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन हुने
बैतडीः बैतडीमा गर्भवती महिलाहरुलाई लक्षित गरेर अल्ट्रासाउण्ड शिविर सञ्चालन हुने भएको छ।
जिल्लाको सुर्नया गाउँपालिकाले गर्भवती महिलाहरुलाई लक्षित गरेर ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन गर्ने भएको हो। गर्भावस्थामा हुन सक्ने जटीलताहरुलाई मध्यनजरगरि मातृ मृत्यु तथा शिशु मृत्यु रोक्नका लागि ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।
महराका अनुसार चैत २१ गते रौलेश्वर स्वास्थ्यचौकी, २२ गते भौनेली स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ। यस्तै वडा नं ३ वासुलिङ्ग स्वास्थ्यचौकीमा चैत २३ गते शिविर सञ्चालन हुनेछ भने वडा नं २ स्थित वासुदेव आधारभूत स्वास्थ्य केन्द्रमा चैत २४ गते शिविर सञ्चालन हुनेछ।
यस्तै वडा नं १ स्थित हटैराज स्वास्थ्यचौकीमा चैत २६ गते ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए। शिविरमा आइ सेवा लिन समेत सबैलाई आग्रह गरिएको छ। शिविर सञ्चालनका बेला आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आएर चेकजाँच गर्नका लागि सुर्नया गाउँपालिकाले आग्रह गरेको छ।