सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पुल निर्माणको सम्झौता सकियो, ठेक्का तोड्न अलमल

२०७९ चैत्र १९, १०:५४ कमल सावद

धनगढीः पूर्वाधार विकास कार्यालय, धनगढीले कैलालीको गौरीगंगामा दुई पुल निर्माणका लागि गरेको सम्झौता सकिएको पनि ६ महिना भइसकेको छ। तर पुल निर्माणको काम सुरु भएको छैन्। पूर्वाधार कार्यालय र निर्माण कम्पनीबिच गत असारभित्र दुईवटा सडक पुल निर्माण सक्न सम्झौता भएको थियो।

भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले ठेक्का सम्झौता गरेका दुईवटै पुल २०७९ असारभित्र पूरा गर्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म काम सुरु भएको छैन। काम नगर्ने ठेकेदारसँगको सम्झौता तोड्न पूर्वाधार विकास कार्यालय असफल देखिएको छ।

पूर्वाधार विकास कार्यालय धनगढीका निमिक्त प्रमुख रामचन्द्र खत्रीले निर्माण कम्पनीलाई पटकपटक पत्रचार गरेको बताए। उनले भने, ‘काम गर्छु भनेको छ। सामान पठाएको छु भन्दै थिए। पुरानै रेटमा गरेपनि ठिकैछ।’ पूर्वाधार विकास कार्यालय कैलाली र वाई पी कन्ट्रक्सनबिच पुल निर्माणको सम्झौता भएको हो।

निर्माण कम्पनीले २०७९ असार ३१ सम्म काम सक्नुपर्ने हो। तर, म्याद सकिएको ६ महिना वितिसक्दा पनि काम सुरु भएको छैन। पाँच करोड २८ लाखमा अण्डैयास्थित नदीमा काम सुरु भए पनि पुलका पिल्लरको काम समेत पूरा भएको छैन्। साढे एक करोड निर्माण कम्पनीले निकासा लिइसकेको भए पनि निर्माण कार्य अलपत्र छ।

निर्माण कम्पनीलाई पटकपटक मौखिक र लिखित दबाब दिएको दाबी पूर्वाधार कार्यालयको छ। खत्रीले भने, ‘अण्डैयामा पनि धेरै काम भएको छैन्। ठेक्का तोड्यो भने उनीहरु अदालत जान्छन।’ चौमाला नदीमा पुल निर्माणका लागि ७ करोड २७ लाखमा पुल निर्माण गर्न निर्माण कम्पनीले ठेक्का लिएको थियो। सो पुलको निर्माण कार्य पनि अलपत्र छ।

अण्डैयाको पुल निर्माण कार्य ४० प्रतिशत पूरा भएको दाबी गरिएको छ भने चौमालाको पुल निर्माणको काम अझै सुरु भएको छैन्। चौमालामा पुल निर्माणका लागि भने डिजाइनमै त्रुटि भएका कारण समस्या भएको दाबी गरिएको छ। पूर्वाधार विकास कार्यालयका अनुसार तीन÷चार पटक पत्र पठाएको भए पनि काम हुन सकेको छैन्। कार्यालयले ठेक्का अलपत्र पार्ने निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरेको भए पनि अझै काम सुरु भएको छैन्।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस