८ वर्ष कोरिया बसेका बझाङका सिंहको योगेश भट्टराईको गाउँमा शिक्षक हुने धोको
धनगढीः बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ७ का ३४ वर्षीय धिरेन्द्र सिंहले शिक्षक हुने कल्पनासम्म गरेका थिएनन्। हुन त त्रिभुवन विश्ववद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका सिंहले कोरिया गएर ८ वर्ष काम गर्ने पनि सोचेका थिएनन्। सिंहले अहिलेसम्म नसोचेका धेरै कुरामा सफलता पाएको तर सोचेको कुराको थालनीसम्म गर्न नपाएको अनुभव सुनाएका छन्।
बझाङ पुर्ख्यौली घर भए पनि हाल धनगढी उपमहानगरपालिका वडा नम्बर ८ शिक्षानगरमा बस्दै आएका सिंह २०७८ माघमा खुलेको शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर प्राथमिक तहको शिक्षकमा ताप्लेजुङ जिल्लाबाट सिफारिस भएका छन्।
सुदूरपश्चिमको हिमाली जिल्ला बझाङमा जन्मिएका र त्यहीँ कक्षा १० सम्मको अध्ययन गरेका सिंहको शिक्षक सेवा आयोग पास गर्दासम्मको कथा निकै रोचक छ।
डोटीको शैलेश्वरी स्कुलबाट प्लस टु पास गरेका सिंहले जनसंख्या शास्त्रमा कैलाली बहुमुखी क्याम्पसबाट २०६७ मा स्नातक गरेका हुन्। सोही वर्ष स्नातकोत्तर गर्न काठमाडौं गएका सिंह, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भर्ना भए। उनले समाजशास्त्र विषय लिएर अध्ययन अगाडि बढाए। सिंह र दार्चुलाका मदन बम रुम पार्टर थिए। बम त्रिभुवन विश्वविद्यालयमा वाणिज्य शास्त्रको अध्ययन गर्दै र कोरियन भाषा पनि सिकिरहेका रहेछन्। बमले पहिलो वर्षमै कोरियन भाषा परीक्षा पास गरेर कोरिया गए। तर, सिंहले भने निरन्त पढाइ अगाडि बढाए।
रुम पार्टनर कोरिया गएपछि भने सिंहलाई पनि कोरियन भाषा सिक्ने मन लाग्यो। तर, साथीहरूले हेप्ने भन्ने डरले कसैलाई नभनेर कोरियन भाषा कक्षा लिन सुरू गरेका सिंहले पनि पहिलो प्रयासमै कोरियन भाषा परीक्षा उत्तीर्ण गरेको बताए। साथीहरूले कोरियन भाषा पास भएपछि मात्रै थाहा पाएको र घरमा पनि त्यसपछि मात्रै जानकारी गराएका सिंहको स्नातकोत्तर दोस्रो वर्षको परीक्षा र थेसिस लेखिसकेपछि कोरियाबाट भिसा आयो।
मास्टर्स डिग्री पढेका सिंह त्यपछि २०७० मा पाँच वर्षका लागि कामदार भिसामा कोरिया हानिए। कोरिया १० वर्षसम्म बस्न पाउने सुविधा हुँदाहुँदै स्वदेश फर्किएर व्यापार गर्ने भन्दै ८ वर्षमै २०७८ माघमा सिंहले नेपाल फर्किएको बताए। तर, व्यापार गर्ने योजना बनाउन नपाउँदै विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीका कारण सिंहको व्यापार गर्ने योजना स्थागित हुन पुग्यो।
श्रीमतीलाई पढ्ने वातावारण बनाउन खोज्दा आफैं शिक्षक
कोभिडका कारण व्यापार व्यवसाय गर्ने वातावराण बिग्रेकाले सिंह श्रीमतीलाई शिक्षक सेवा आयोगको तयारी गर्ने वातावरण मिलाउन थाले। श्रीमतीलाई जसरी पनि सरकारी जागीर खुवाउन सके त्यसपछि व्यापर गर्ने सोच लिएका सिंहसँग शिक्षक अध्यापन प्रमाण पत्र थियो। उनले आफूले पनि फाराम भरे श्रमतीलाई प्रतिस्पर्धा गर्ने वातावरण बन्ने भनेर माध्यमिक र प्राथमिक तहको फाराम भरेका थिए। कोशी प्रदेशबाट सामाजिक शिक्षकको परीक्षामा पहिलो पत्र बिग्रेकाले नाम ननिक्लेको भए पनि प्राथमिक तहमा उनको नाम निक्लियो तर श्रीमतीले नाम निक्लेन।
श्रीमतीका लागि किताब पढ्न थालेका सिंह प्राथमिक तहको पहिलो पत्रमा पास भएपछि दोस्रो पत्रका लागि तयारी जुटेको र सहजै पास हुन सकेको बताउँछन्। उनी ताप्लेजुङबाट खुलातर्फका १८६ सिटमा ४४ औं नम्बरमा सिफारिस भएका छन्। शिक्षक हुने भन्ने कुरा कल्पनासम्म नगरेको बताउने सिंह नियुक्ति पत्र बुझ्न ताप्लेजुङ जाने तयारीमा जुटेका छन्।
अबको लक्ष्य माध्यमिक शिक्षक
यो वर्ष पनि शिक्षक सेवा आयोगले विज्ञापन गरेको र कोशी प्रदेशबाटै माध्यमिक तहको सामाजिक विषयको आवेदन भरेका सिंह नयाँ नियुक्तिसँगै माध्यमिक तहको शिक्षक सेवा आयोग पास गर्ने तयारीमा कम्मर कसेर लागेका छन्। कोरिया बस्दा राम्रै कमाइ गरेका सिंह शिक्षक हुने अवसर मिलेको भन्दै झन खुसी भएका छन्। ताप्लेजुङ जिल्लाको योगेश भट्टराईको गाउँको स्कुलमा दरबन्दी खाली भए पहिलो रोजाइमा त्यहीँ स्कुल हुने सिंहले बताए।