सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीमा डायलाइसिस उपचारमै भद्रगोल, पालो पाउँदैनन् बिरामी

२०७९ चैत्र १२, ०६:५६ नारायण अवस्थी

धनगढीः सेती प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा पाउन मुस्किल हुने गरेको छ। मृगौला फेल भएका बिरामीले हरेक हप्ता १ देखि ३ पटक अनिवार्य डायलाइसिस गर्नुपर्ने भए पनि सेती प्रादेशिक अस्पतालमा सेवा पाउन एक दिन अगाडि देखि पर्खनुपर्ने अवस्था छ।

गौरीगङ्गा नगरपालिका वडा नम्बर ९ का रामकृष्ण चौधरीको दुई महिना अगाडिदेखि दुबै मृगौलाले काम गर्न छोड्यो। चौधरीले सेती प्रादेशिक अस्पतालमा हप्तामा दुई पटक डायलाइसिस गर्न थालेका छन्। शनिवार डायलाइसिस गर्ने पालो भए पनि फिस्टुला बिग्रेकाले नयाँ बनाउने भन्दै चौधरी डायलाइसिस वार्डमा पर्खेर बसेका भेटिए। उनको कहिले फिस्टुला बन्छ र डायलाइसिस गर्ने पालो आउँछ भन्ने थाहा छैन।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ कि देउसरादेवी भुलका दुबै मृगौला काम नगर्ने भएको पाँच वर्ष भएको छ। उनले सेती अस्पतालमा नियमित डायलाइसिस गराउदै आएकी छन्। तर,गत फागुन २१ गते सेती अस्पतलको प्रयोगशालाले परीक्षणमा हेपाटाइटिस बी भएको गलत रिपोर्ट दिँदा उनी डिप्रेसनमा गएर अहिले आइसियुमा उपचार गराइरहेकी छन्।

सेती अस्पतालको प्रयोगशालाको गलत रिपोर्टका कारण डायलाइसिस गरिरहेकी भाउजूलाई आइसियुमा राख्नु परेको बिरामीकी नन्द भगवती भुलले गुनासो गरिन्। 'भाउजूको डायलाइसिस हुन थालेको पाँच वर्ष भयो तर अस्पतालको प्रयोगशालाले 'हेपाटाइटिस बी' भयो भन्ने रिपोर्ट फागुन २१ गते दियो,'  उनले भनिन्, 'अस्पतालको गलत रिपोर्टका कारण भाउजूमा डिप्रेसनको पनि समस्या देखियो। अहिले आइसियूमा राखेर उपचार गर्नुपरेको छ।'

गौरीगङ्गा नगरपालिका वडा नम्बर ९ का कल्पना खत्रीका श्रीमानको हप्तामा दुई पटक डायलाइसिस गर्नुपर्छ। खत्रीले आइतवार र बुधवार डायलाइसिस गराउन एक दिन अगाडि नै धनगढी आएर पालो पर्खनु पर्छ। यस्तै, पुनर्वास नगरपालिका वडा नम्बर १ का श्याम चन्द बिहान ११ बजे अस्पताल आएर पालो पर्खिरहेका भेटिए। उनको साथमा रहेकी पत्नी सीतादेवी चन्दले सेतीमा बिरामीको संख्या धेरै हुँदा तोकिएको समयमा पालो पाउन मुस्किल हुने गरेको बताइन्। कञ्चनपुरको महाकाली अस्पतालमा पनि डायलाइसिस सेवा सुरु भए बिरामीले राहत पाउने चन्दको भनाइ छ। 'सेतीमा मान्छे धेरै भए पालो पाउन मुस्किल हुने गरेको छ,' उनले भनिन्, 'महाकाली अस्पतालमा पनि डायलाइसिस सेवा सुरू भए हामीलाई राहत हुन्थ्यो।'

अस्पतालको डायलाइसिस वार्डको खुट्टा भाँचिएको कुर्सीमा बसेर आफ्नो पालो पर्खिरहेका बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ७ का हुकुम दौल्यालले पुसदेखि डायलाइसिस गराइरहेको बताए। अस्पतालको डायलाइसिस वार्ड बाहिर बिरामीलाई बस्न कुनै व्यवस्था नभएको उनको गुनासो गरे।

यस्तै, महेन्द्रनगर घर भएका कमला बोहराले पनि अस्पतालमा रातभरि कुरुवा बस्नुपर्ने भए पनि कुरुवालाई बस्ने र शौचालयको व्यवस्था नहुँदा थप पीडा खेप्नुपरेको गुनासो गरिन्।

सेती प्रादेशिक अस्पतालमा १४ वटा डायलाइसिस उपकरण छन्। जसमा दुई उपकरण एचआईभी र हेपाटाइटिस भएका बिरामीका लागि छुट्याइएको छ भने एक उपकरण आकस्मिक बिरामीका लागि राखिएको छ।

सेतीमा नियमित रुपमा डायलाइसिस गर्न आउने बिरामीको संख्या १७० भन्दा बढी छ। अस्पतालमा दैनिक ४५ देखि ५४ जनाको डायलाइसिस हुने गरेको छ।अस्पतालको डायलाइसिस वार्डमा भेटिएका बिरामी र तिनका कुरुवाले लामो समयसम्म उभिएर कुर्नु परेको गुनासो गरेका छन्। तर, अस्पतालले भने जनशक्ति र डायलाइसिस उपकरण थपेर अहिले देखिएको समस्या समाधान गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए।

'अहिले सेतीमा डायलाइसिस गराउन आउने बिरामीको संख्या १७० छ। हामीसँग १४ उपकरण मध्ये ११ बाट नियमित डायलाइसिस भइरहेको छ भने एक आकस्मिक र दुई एचआईभी र हेपाटाइटिस भएका बिरामीका लागि छुट्याइएको छ,' उनले भने, 'उपकरण र जनशक्ति थप्ने पहल भइरहेको छ।'

सेती अस्पतालका डायलाइसिस मसिन दैनिक २० देखि २२ घण्टा निरन्तर चलाउनुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ। एक बिरामीको डायलाइसिस गर्दा ४ घण्टा लाग्छ भने करिब एक घण्टा मसिनको आन्तरिक वासिङ गर्न लाग्ने गरेको छ। अस्पतालमा दैनिक २ जनासम्म नयाँ डायलाइसिस गर्नुपर्ने बिरामी आउने गरेका छन्। सेतीको डायलाइसिस वार्डमा बिरामीका लागि बस्ने व्यवस्थासम्म राम्रो छैन।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस