सुदूरपश्चिम प्रदेशसभा बैठकमा पूर्वाधार विकास मन्त्रीले नै झुठो प्रगती सुनाए
सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिह बोहोराले समेत प्रदेशसभा बैठकमा झुठो प्रगती विवरण सुनाएका छन्। प्रदेश सरकारको समिक्षा बैठकमा चालुतर्फ २४ प्रतिशत र पुँजिगत खर्चतर्फ १५ प्रतिशत बजेट खर्च गरेको भन्दै प्रस्तुत गरिएको विवरणलाई केही सच्याएका मन्त्री बोहोराले फेरी झुठो विवरण सुनाएका हुन्।
आजको प्रदेशसभा बैठकको विशेष समयमा मन्त्रालयसंग सम्बन्धीत प्रश्नको जवाफ दिदै मन्त्री बोहोराले समिक्षा बैठकमा आफ्नो मन्त्रालयले झुठो प्रगती प्रस्तुत गरेको भन्दै अपवाह फैलाईएको दावी त गरे, तर स्वयंम उनले नै मन्त्रालयको यथार्थ प्रगती सभामा सुनाएनन्। उनले कर्मचारी अभाव लगायतका विभिन्न समस्याका वावजुद पनि मन्त्रालयले पूर्वाधार विकासका कामलाई अगाडी बढाएको भन्दै दुई चौमासिकमा १० प्रतिशत वित्तिय प्रगती भएको उल्लेख गरे। तर कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्कले भने पूर्वाधार विकास मन्त्रालले ७ दशमलव ६५ प्रतिशत पुँजिगत वित्तिय प्रगती गरेको देखाएको छ।
यसअघि प्रदेश सरकारको समिक्षा बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इन्द्रदेव भट्टले फागुन मसान्त सम्म पुँजिगततर्फ १५ प्रतिशत र चालुतर्फ २४ प्रतिशत वित्तिय प्रगती भएको झुठो विवरण प्रस्तुत गरेका थिए। भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक पुँजीगत बजेट ८ अर्ब ८८ करोड रहेकोमा फागुन मसान्त सम्म ७ दशमलव ६५ प्रतिशत अथात् ६७ करोड ८५ लाख मात्रै खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।
प्रदेशसभा बैठकमा बोल्दै मन्त्री बोहोराले १० प्रतिशत वित्तिय प्रगती र २४ प्रतिशत बजेट बराबरका योजना कार्यान्वयन भइरहेकाले छिट्टै प्रगती देखिने समेत बताए। उनले झुठा विवरण प्रस्तुत गरी फुलबुट्टा भर्ने आवश्यकता नरहेको स्पष्ट पारे। तर उनले आफुले समेत झुठो विवरण सुनाइरहेको कुराको भने हेक्का राखेनन्।