धनगढीमा सुदूरपश्चिम खप्तड गोल्डकप सुरु, मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र
धनगढीः मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ संस्करण विहिबारदेखि सुरु भएको छ। सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबको आयोजनामा दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका छन। उनले खेल र खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना हुन आवश्यक रहेको बताए।
प्रदेशलाई विश्वभरी पहिचान गराउन पनि खेलकुद क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गर्ने मुख्यमन्त्री शाहले बताए। खेलकुद प्रतियोगिताको समुद्घाटनसंगै आयोजक क्लबले मुख्यमन्त्री शाहलाई २ बुँदे ज्ञापनपत्र बुझाएको छ। प्रदेश सरकारले रातो किताबमा बजेट विनियोजन गरी प्रतियोगितालाई दीर्घकालीन रूपमा सञ्चालन गर्नमा सहयोग गर्नुपर्ने र क्षेत्रीय रंगशाला धनगढीमा रात्रीकालिन खेल प्रतियोगिता सञ्चालन गर्न आधुनिक लाइट जडान गर्नुपर्ने क्लबको माग छ।
त्यस्तै, सयौँ पटक रक्तदान गरेका दीपक नेपाल र पूर्नवासका फिलीप तामाङलाई समाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको छ। आयोजक टिमले खेलकुदको विकासले उन्नत समाज र देशको विकास गर्न सकिने जनाएको छ। प्रतियोगिताको उद्घाटन खेलमा नेपाल एपीएफ क्लब र बागमती क्लबबिच प्रतिष्पर्धा भईरहेको छ।
प्रतियोगितामा ‘ए’ डिभिजन ६ टिम, दुई विदेशी टिम, मोफसलको एक र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको आयोजकले बताएको छ। प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।