कैलालीका विद्यालय क्षेत्रमै ‘चुरोट’ बिक्री, नियमनकर्ता मूकदर्शक
धनगढीः विद्यालय क्षेत्र तथा सार्वजनिक स्थानमा कुनै पनि सुर्तीजन्य तथा धूम्रपान गर्न निषेध गरिएको छ। तर, सम्बन्धित निकायको अनुगमन तथा नियमन नहुँदा निषेध गरिएकै क्षेत्रमा सुर्ती तथा सुर्तीजन्य वस्तुको प्रयोग हुँदै आएको छ। धनगढीसहित कैलालीका विभिन्न विद्यालय क्षेत्र, अस्पताल, सार्वजनिक स्थल तथा कार्यालय क्षेत्रमा सुर्तीजन्य वस्तुको बिक्री वितरण तथा सेवन हुँदै आएको छ।
धनगढीमा हालै प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रादेशिक स्वास्थ्य प्रद्र्धन कार्यालयले सञ्चालन गरेको छलफलमा विद्यालयका शिक्षक तथा प्रधानध्यापकहरुले सो कुरा बताएका हुन्। उनीहरुले विद्यालय उमेर समूहका बालबालीकाहरुले चुरोटको प्रयोग गर्दै आएको भन्दै चिन्ता व्यक्त गरेका छन्। धनगढीको पञ्चोदय माध्यामिक विद्यालयका शिक्षकले विद्यालय क्षेत्रका होटल तथा किराना पसलहरुमा चुरोट बिक्री हुँदै आएको बताए।
शिक्षकहरुले भने, ‘स्कुल नजिकका होटलहरुमा चुरोट बिक्री हुन्छ। सामुदायिक प्रहरी पनि छ, उहाँहरुलाई भनेका छौ। विद्यार्थीले गुनासो गर्नु भएको थियो। यसका लागि सामुदायिक प्रहरीसँग साझेदारी गरिरहेका छौ।’ कैलालीका अधिकांश विद्यालय, अस्पताल क्षेत्र, सार्वजनिक स्थान तथा सरकारी कार्यालयहरुमा सुर्ती तथा सुर्तीजन्य वस्तुको प्रयोग तथा कारोबार हुँदै आएको छ।
विश्वमा हरेक ५ सेकेण्डमा एक व्यक्ति धूम्रपानजन्य रोगका कारण मरिरहेको हुन्छ। यसबाट विश्वमा वार्षिक करिव ७० लाख व्यक्ति र नेपालमा करिव २७ हजार व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन्। तर विद्यालय उमेरका बालबालीकाहरुले नै धूम्रपानको प्रयोग गर्दै आएको भन्दै चिन्ता व्यक्त गरिएको छ। एक शिक्षकले विद्यालयमा नै विद्यार्थीहरुले चुरोट, गाँजा र सुर्तीहरु बोकेर आउने गरेको घटना सुनाए।
सार्वजनिक स्थान (जस्तैः सरकारी कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्य सम्बन्धी संस्था, विमानस्थल, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखाना कार्यस्थल, चलचित्र घर, नाटकघर, होटल, मोटल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, छात्राबास, रंगशाला, कर्भडहल, पौडी पोखरी, डिपार्टमेन्टल स्टोर, धर्मशाला तथा टिकट काउन्टर आदि)मा धूम्रपान तथा सुर्ती सेवन गर्न पाइँदैन।
प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रादेशिक स्वास्थ्य प्रवद्धन कार्यालयका प्रमुख हेमराज खड्काले सुर्ती र सुर्तीजन्य पदार्थका कारण रोग लाग्दै आएको बताए। उनले भने, ‘किशोरहरु मज्जाले हाँस्न पनि सक्दैनन्। उनीहरुको मुख गुट्काले बिगारेको छ। उनीहरु खाना पनि कम खान्छन। खान कम खाएर पनि रोगी हुन्छन्।’
शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द, वृद्ध आश्रम, अनाथालय र नेपाल सरकारले तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको पसलबाट सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न पाइँदैन। निःशुल्क रूपमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको वितरण वा उपहारका रूपमा दिन पाइँदैन। सुर्तीजन्य पदार्थलाई बिक्रीस्थलमा सजावट गर्न तथा त्यस्ता पदार्थको प्रदर्शन गर्न पाइँदैन।
ऐनविपरीत सुर्तीजन्य पदार्थको बिक्री गरेमा १० हजार रूपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ। सुर्तीजन्य पदार्थको हानीका बारेमा सूचना टाँस नगरेमा पाँच हजार रूपैयाँसम्म जरिवाना हुनेछ। निषेधित स्थानमा कसैले धुम्रपान गरेमा स्थानीय अधिकारीले तत्कालै एक सय रूपैयाँ जरिवाना गराउन सक्ने कानूनी व्यवस्था रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए।