सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको विकास बजेट कार्यान्वयन उत्साहजनक, कति भयो खर्च?

२०७९ चैत्र ५, ०६:५४

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले विकास बजेट कार्यान्वयनमा सबैभन्दा बढी जोड दिएको छ। उपमहानगरले चालु आर्थिक वर्ष सुरुभएसँगै पुँजीगत बजेट कार्यान्वयनमा जोड दिएको हो। उपमहानगरले फागुन मसान्तसम्म ३८ प्रतिशतभन्दा बढी पुँजीगत बजेट कार्यान्वयन गरिसकेको छ।

चालु आर्थिक वर्षका लागि ८० करोड ७० लाख ६२ हजार ३६८ रुपैयाँ कुल विकास बजेटमध्ये ३८ प्रतिशतभन्दा बढी अर्थात ३० करोड ६५ लाख २२ हजार ७४८ रुपैयाँ खर्च भइसकेको छ। धनगढीको विकास बजेट कार्यान्वयन उत्साहजनक देखिएको उपमहानगरपालिकाका योजना तथा बजेट शाखा प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए।

‘अघिल्लो महिनासम्मको प्रगतिअनुसार कुल पुँजीगत बजेटको ३२ प्रतिशतभन्दा बढी विभिन्न विकास निर्माणका काम सम्पन्न भएर भुक्तानी गरिएको छ, धेरै कामहरु त्यसपछि पनि सम्पन्न भइसकेकाले प्रगति अझ बढी छ।’ उपमहानगरपालिकाले उपभोक्ता समितिमार्फत हुने योजनाको पनि ९९ प्रतिशत सम्झौता गरिसकेको छ।

चालु आर्थिक वर्षका लागि निर्धारण गरिएका योजनाहरुको समयमै काम पुरा हुने गरी नियमित रुपमा अनुगमन तथा निर्माणाधिन र निर्माण पुरा भइसकेका योजनाहरुको अवस्थाको विषयमा समेत अध्ययन अनुगमन हुने गरेको उपमहानगरले जनाएको छ। उपमहानगरले विकास खर्चलाई चालु खर्चमा परिवर्तन गर्न नपाउने व्यवस्था नै गरेर पुँजीगत बजेट कार्यान्वयनमा जोड दिँदै आएको उनले बताए।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि एक अर्ब ८३ करोड ८९ लाख २४ हजारको अनुमानित बजेट सार्वजनिक गरेको थियो। चालूतर्फ एक अर्ब तीन करोड १९ लाख ७० हजार र पुँजीगततर्फ ८० करोड ७० लाख ६२ हजार ३६८ रुपैयाँ विनियोजन गरेको थियो।

उपमहानगरपालिकाले सामाजिक विकासतर्फ सबैभन्दा बढी ७४ करोड ७८ लाख ३३ हजार, पूर्वाधार विकासतर्फ २४ दशमलव ५३, आर्थिक विकासतर्फ कुल बजेटको ७ दशमलव ८४, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ४ दशमलव २ र कार्यालय सञ्चालनतर्फ २२ दशमलव ७६ प्रतिशत बजेट विनियोजन गरिएको थियो। उपमहानगरको विकास बजेट कार्यान्वयन सबैभन्दा राम्रो देखिएको योजना तथा बजेट शाखाप्रमुख पन्तले बताए। खरिद प्रक्रिया पारदर्शी बनाउँदै समयमै खरिद कार्य सम्पन्न गरी आफ्नै आन्तरिक स्रोतले चालू खर्च धान्ने गरी आत्मनिर्भरउन्मुख बजेट कार्यान्वयन गर्ने व्यवस्थाअनुसार काम भइरहेको उपमहानगरले जनाएको छ।

कमेन्ट लोड गर्नुस