सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको झुठो प्रगती विवरणः ७ प्रतिशत बजेट खर्च, २४ प्रतिशत देखाईयो

२०७५ चैत्र १९, ०६:४२ जनक विष्ट

सुदूरपश्चिम सरकारको समिक्षा बैठकमा झुठो प्रगती विवरण प्रस्तुत गरिएको फेला परेको छ। सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले समिक्षा बैठकमा झुठो प्रगती विवरण प्रस्तुत गरेको भेटिएको हो। सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा दुई चौमासिकको प्रगतीको समिक्षा गर्न बसेको बैठकमा मन्त्रालयले झुठो विवरण पेश गरेको खुलेको हो। आर्थिक वर्षका दुई चौमासिकमा ७ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गरेको मन्त्रालयले २४ प्रतिशत आर्थिक प्रगती भएको भन्दै झुठो विवरण सार्वजनिक गरेको छ। 

सबैभन्दा बढि ८ अर्ब ८८ करोड पँुजीगत बजेट रहेकोमा मन्त्रालयले दुई चौमासिक सम्म ७ प्रतिशत अथात् ६७ करोड मात्रै खर्च गरेको छ। तर मन्त्रालयका तर्फबाट सचिव इन्द्रदेव भट्टले भने समिक्षा बैठकमा पेश गरेको विवरणमा २ अर्ब १० करोड खर्च गरेको भन्दै २४ प्रतिशत आर्थिक प्रगती देखाएको छ। जबकी दुई चौमासिकमा प्रदेशका सबै मन्त्रालयले मात्रै २ अर्ब ५९ करोड खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। 

भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रगती समिक्षा बैठकमा झुठो विवरण पेश गरेको विषयमा मन्त्रालयका सचिव इन्द्रदेव भट्टले प्रतिक्रिया दिन मानेका छैनन्। उनले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट थप जानकारी लिन आग्रह गरेका छन्।

कार्यान्वयनका लागि ठेक्का सम्झौता भएका योजनालाई समेत आर्थिक प्रगती मानिने दावी सचिव भट्टको थियो। तर  कुनै पनि योजनामा ठेक्का सम्झौता हुदैमा र अख्तियारी जादैमा त्यसलाई आर्थिक प्रगती भन्न नमिल्ने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेको भनाई छ। 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले समिक्षा बैठकमा झुठो विवरण पेश गरेका बेला सबै मन्त्रालयको भन्दा राम्रो प्रगती गरेको दावी गरिररहेको छ। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस