बैतडीको सिगास शिक्षा क्याम्पसलाई निर्वाचनमा जान अनेरास्ववियुको माग
बैतडीः बैतडीमा अनेरास्ववियुले क्याम्पसलाइ पत्र बुझाएको छ।
जिल्लाको सिगास गाउँपालिकामा रहेको सिगास शिक्षा क्याम्पसलाई अनेरास्ववियुले निर्वाचन प्रकृयामा जान माग गर्दै निवेदन दिएको छ। स्ववियु निर्वाचन सम्बन्धिको अवैधानिक कदम सच्चाएर निर्वाचन प्रकृयामा आउन माग गर्दै अनेरास्ववियुले क्याम्पस प्रशसासन र निर्वाचन समितिलाई निवेदन दिएको छ।
त्रिविको स्ववियु निर्वाचन निर्देशिका विपरित विद्यार्थी संगठनमा विभिन्न प्रकारका भ्रम पैदा गरेको, सर्वदलिय बैठक विना नेवि सघंलाई मात्रै अगाडी बढाएको आरोप लगाउँदै अनेरास्ववियुले आपत्ति जनाएको छ। क्याम्पस प्रशासन र निर्वाचन समितिले अवैधानिक कदम अगाडी बढाएको भन्दै अनेरास्ववियुले सो कदमको घोर भत्र्सना र निन्दा गरेको छ।
नेवि संघले गरेको मनोनयनमा विभिन्न त्रुटी हुदा समेत उक्त विषयमा क्याम्पस प्रशासन मौन रहेको र अन्य विद्यार्थी संगठनले बारम्बार रोक्न आग्रह गर्दापनि बेवास्ता गरेर अवैधानिक कदम मान्य नहुने सिगास शिक्षा क्याम्पस अनेरास्ववियु इकाइ कमिटि अध्यक्ष भुवनसिंह धामीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।
निर्णय सच्चाएर सबै विद्यार्थीहरुलाई अनुकुल हुने गरि अगाडी बढ्न पनि निर्वाचन समितिलाई आग्रह गरिएको छ। निर्वाचनमा जाने निर्णय सूचना विपरितको यो कदम नसच्चाए तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रमको जिम्मा निर्वाचन समिति र क्याम्पसले लिनुपर्ने पत्रमा भनिएको छ।