किसान सहकारीको चुरे शाखाले बचत फिर्ता नदिएको गुनासो
धनगढीः किसान बहुउद्येश्यीय सहकारी संस्थाले चुरे गाउँपालिका वडा नम्बर ३ का बचतकर्ताको पैसा फिर्ता नगरेको गुनासो गरिएको छ। वडा नम्बर ३ बगैचुलामा रहेको सहकारीको शाखा कार्यालयमा बचत गर्दै आएका ११ जनाले बचत फिर्ता माग्न निवेदन दिए पनि सहकारीले फिर्ता नगरेको बताएका हुन्।
सहकारीमा आवद्ध नहुने भन्दै स्थानीय देवी बम, दुर्गादेवी सिंह, मीनादेवी शाह, शान्तीदेवी शाह, मन्दिरादेवी शाह, पुष्पादेवी शाह, देवादेवी शाह, लक्ष्मी शाह, यशोदा शाह, भुमा शाह र माया शाहले बचत र ब्याज फिर्ता माग्न निवेदन दिएका छन्। तर, सहकारीले बचत फिर्ता नगर्ने बताएको स्थानीय शमशेर बमले बताए।
११ जना महिलाको २ लाख ७१ हजार १२० बचत रहेको तर सहकारीका कर्मचारीले बचत फिर्ता गर्न नसक्ने जवाफ दिएका बचतकर्ताले बताएका छन्। तर,यस विषयमा कुरा गर्दा सहकारीका कर्मचारी सन्तोष चौधरीले समूहमा बचत फिर्ता माग्न आउँदा दिन समस्या भएको तर बुधवार प्रक्रिया मिलाएर बचत फिर्ता गर्ने बताएका छन्।