सुदूर नेपाललाई विश्वसँग जोड्दै

केन्द्रीय सर्भरमा समस्या, स्वास्थ्य बीमा कार्यक्रम अवरुद्ध

२०७९ फाल्गुन २८, १२:०७ खबर संवाददाता

धनगढीः स्वास्थ्य बीमा कार्यक्रम लागु भएका देशभरका अस्पतालमा विहानैदेखि सेवा अवरुद्ध भएको छ। केन्द्रीय सर्भरमा समस्या आएका कारण अस्पतालहरुले सेवा स्थगित गरेका हुन्।

स्वास्थ्य बिमा बोर्ड धनगढीले बिहानैबाट सर्भरमा समस्या आएको बताएको छ। ‘गभरमेन्ट इन्टिग्रेट डाटा सेन्टर (जीआईडीसी) (केन्द्रीय सर्भर)मा समस्या आएपछि स्वास्थ्य बीमाका सर्भर नचलेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ। सर्भर नचल्दा बिमितले पाउने सेवामा समस्या भएको छ। प्राविधिकहरु काममा खटिइसकेको केही समयमा समस्या समाधान हुने बताइएको छ।

केही हप्तादेखि नै सर्भरमा पटक–पटक समस्या आइरहेको छ। के कारणले यस्तो भइरहेको भन्ने विषयमा खोजि भइरहेको बताइएको छ। स्वास्थ्य बीमाको काम शनिबार बन्द हुने भएकाले अस्पतालहरुमा विहानैदेखि सेवाग्राहीको भीड बढिरहेको छ। अस्पतालहरुले सर्भरमा समस्या आएको भन्दै बिमित बिरामीलाई फर्काइरहेका छन्। जसले गर्दा सर्वसाधारण तथा बिरामी मर्कामा परेका छन्। पछिल्लो समय स्वास्थ्य बीमाको सेवा गुणस्तरीय नभएको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन्।

कमेन्ट लोड गर्नुस