सुदूरपश्चिमको अर्थतन्त्र साढे ५ गुणाले पछाडि, यस्ता छन् मुख्य कारण
धनगढीः सात प्रदेशमध्ये सबैभन्दा ठूलो अर्थतन्त्रको आकार भएको बाग्मतीभन्दा सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र ५ गुणाले कम देखिएको छ। केन्द्रीय तथ्यांक विभागको पछिल्लो सार्वजनिक प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुसार बाग्मती प्रदेशको अर्थतन्त्रको आकार १७ खर्ब ९१ अर्ब रूपैयाँ पुग्ने अनुमान छ। यो वर्ष सुदूरपश्चिमको अर्थतन्त्र ३ खर्ब ३९ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ। यो बाग्मतीको भन्दा साढे ५ गुणाले कम हो।
बाग्मतीको तुलनामा सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र आधा समेत पुग्न सकेको छैन। तथ्यांक विभागले कोभिड महामारीपछि सबै प्रदेशको आर्थिक क्रियाकलाप सामान्य अवस्थातिर फर्किन खोजेको देखिएको बताएको छ। यही कारण चालु आवमा प्रदेशको गार्हस्थ्य उत्पादन वृद्धिदर पहिलेभन्दा बढ्ने अनुमान गरिएको छ तर बाग्मतीसँग अर्थतन्त्रको आकारमा निकै फराकिलो अन्तरले सुदूरपश्चिम पछाडी देखिएको छ।
मुलुकको कुल अर्थतन्त्रको वृद्धिदर ५.८ प्रतिशत अनुमान गरिएकोमा बाग्मतीको यो भन्दा बढी ६.७ प्रतिशत हुने देखिएको छ। सुदूरपश्चिमको वृद्धिदर सबैभन्दा कम ४.९ प्रतिशत रहने छ। सुदूरपश्चिममा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान बढ्न सकेको छैन्। साथै शहरीकरण, जनसंख्या, राष्ट्रिय तहका ठूला व्यापारिक कारोबार नहुँदा लगायत कारण पनि यहाँको अर्थतन्त्र कमजोर देखिएको छ।
सुदूरपश्चिममा सार्वजनिक प्रशासन र सुरक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिमको जिडिपी ३ खर्ब ३९ अर्ब हुने अनुमान गरिएको छ। गत वर्ष ३ खर्ब १२ अर्ब पुग्ने संशोधित अनुमान छ। यसले चालु आवको राष्ट्रिय जिडिपीमा ७.० प्रतिशत योगदान दिने अनुमान गरिएको छ। यस आवमा ४.९ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ। विभागले चालु आवका अघिल्ला ६ देखि नौ महिनासम्मका तथ्यांक र बाँकी अवधि सामान्य रहने अपेक्षा गरी यो अनुमानित तथ्यांक तयार पारेको हो।