आज नेपाल र पीएनजी खेल्दै
काठमाडौं: आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज आज बिहिबारबाट नेपालमा आयोजना हुदैछ। त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली र पपुवा न्यु गिनी(पीएनजी) खेल्दै छन्। कीर्तिपुरमा रहेको टियु मैदानमा आयोजना हुने खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ।
विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ। घरेलु मैदानमा नै पीएनजीसँग गतबर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा नेपाल पराजित भएका थियो।
यस खेलमा भने नेपाललाई जित अति आवश्यक रहेको छ। नेपाल र पीएनजीले यस अघि धेरै पटक खेलेका छन् । नेपालले पीएनजीको टोलीसँग तेस्रो पटक टियु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ। पीएनजीले नेपाली भुमीमा शतप्रतिशत जितको नतिजा निकालेको छ।
पीएनजीसँग समग्रमा ८ एकदिवसीय अन्तराष्ट्रिय खेलेकोमा ६ खेल नेपालले जित्दा २ खेलमा भने पीएनजी विजयी भएको छ। पछिल्लो पाँच भेटमा नेपाल तीन तथा पीएनजी दुई खेलमा विजयी भएको छ। मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ।
मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ। विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ। नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। पपुवा न्युगिनि ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ।