सुदूर नेपाललाई विश्वसँग जोड्दै

भासिएको मोहनापुर–अत्तरिया ६ लेन सडक मर्मत भएन, हस्तान्तरणको हतार

२०७९ फाल्गुन २४, १०:५६ कमल सावद

धनगढीः मोहनापुल–अत्तरिया ६ लेन सडक काम पुरा नहुँदै हस्तान्तरण गर्ने चलखेल सुरु भएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकको दोस्रो प्याकेजअन्तर्गत गेटा क्षेत्रमा सडक भत्किएको थियो। निर्माण कम्पनीले सडक मर्मत नगर्दै योजना कार्यालयलाई हस्तान्तरण गरेको हो। सडक भत्किनुका साथै ठाउँठाउँमा भासिएको भए पनि मर्मतमा कम्पनीले बेवास्ता गरेको छ। मोहनपुर र गेटामा सडक भत्किरहेको छ। साथै धेरै स्थानमा सडक भासिएको छ। 

सडक निर्माण गर्दा रोलरले राम्ररी नदबाइएकाले निर्माण पुरा नहुँदै सडक भत्किनुका साथै भासिएको हो। धनगढी र गोदावरी नगरपालिकाको अधिकांश क्षेत्रमा सडक भासिएको छ। निर्माण कम्पनीले सडक बिगारेको भए पनि मर्मत नहुँदै हस्तान्तरण गर्न हतार गरिएको छ। योजना कार्यालयका प्रमुख रामबहादुर गुरुङ्ले महाकाली पुल आयोजलाई सडक हस्तान्तरण गरिएको बताए।

उनले भने, ‘मोहनापुल–अत्तरिया ६ लेन सडकको कार्यालय खारेज भएको छ। महाकाली पुल आयोजना कार्यालयलाई हस्तान्तरण गरिएको छ। काम पूरा भएको छैन्। मर्मतको काम सबै सकिएपछि कात्तिकपछि मात्र सडक डिभिजनलाई हस्तान्तरण हुन्छ। हामीले हेर्नेमात्र हो।’ निर्माण कम्पनीले सडक राम्ररी दबाइएको थिएन। सडक बिग्रेपछि दुर्घटनाको जोखिम समेत बढेको छ।

सडक भासिएका कारण पूर्वी लेनमा मोटरसाइकल चलाउन समस्या हुने गरेको छ। सडक भत्किएका कारण सवारी दुर्घटना बढ्दै गएको स्थानीयको गुनासो छ। निर्माण कम्पनीले काम नसकेको गुरुङ्ले बताए। एक वर्षसम्म मर्मतको समय हुने उनले बताए। सडक पेन्टिङ्, रेलिङ्, भत्किएको मर्मत लगायतको काम बाँकी नै रहेको गुरुङले बताए। सडक निर्माणको काम गत वर्ष पुरा भएको हो।

सडक अहिलेसम्म हस्तान्तरण भएको छैन। हस्तान्तरण नहुँदै सडक भत्कन र भासिएको भए पनि मर्मतको सुरसार छैन। ६ लेन सडकको निर्माण २०७४ सालबाट अगाडि बढेको थियो। १४ दशमलव २ किलोमिटरको सो सडक तीन खण्डमा विभाजन गरेर निर्माण गरिएको छ। दोस्रो खण्डको पूर्वी लेनमा सडक बिग्रिएको छ। यो खण्डमा लुम्बिनी–राजेन्द्र–डाँफेले ठेक्का पाए पनि निर्माणको काम राजेन्द्र निर्माण सेवाले गरेको हो। 

कुनै पनि आयोजना सम्पन्न भइसकेपछि एक वर्षसम्म मर्मतसम्भारको अवधि रहने गर्छ। बिग्रे÷भत्केको सबै जिम्मा निर्माण कम्पनीले नै लिनुपर्ने व्यवस्था छ। ६ लेन सडकको मर्मतसम्भार अवधि पनि आउँदो असोजसम्म रहेकाले बिग्रेको सडकलाई राजेन्द्र निर्माण सेवाले मर्मत गर्नुपर्ने हुन्छ। एक अर्ब ६५ करोड खर्चेर मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माण गरिएको हो।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस