सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको रिठा–चन्कट्टे सडक निर्माणमा ढिलाइ

२०७९ फाल्गुन २४, ०७:२७ खबर संवाददाता

डोटी: डोटीको जोरायल गाउँपालिका अन्तर्गतको बुडर–जोरायल सडकको रिठा–चन्कट्टे खण्ड निर्माणमा ढिलाइ भएको छ। ठेक्का म्याद सकिन चार महिना बाँकी छँदा प्रगती १० प्रतिशत मात्रै भएको पाइएको छ।

तीन वर्षमा सम्पन्न गर्नेगरी सडक निर्माणको सम्झौता २०७७ असारमा भएको थियो। निर्माण कम्पनीको लापरबाहीले काम समयमै सम्पन्न हुन नसकेको स्थानीयको आरोप छ। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेट मार्फत उक्त सडकखण्डको स्तरोन्नतिका लागि शर्मा–राजेन्द्र जेभीसित ठेक्का सम्झौता गरेको थियो।

सम्झौताअनुसार सो काम २०८० असारभित्र सम्पन्न गर्नुपर्ने छ। 'हालसम्म प्रगति १०÷१२ प्रतिशत मात्र भएको छ,' पूर्वाधार विकास कार्यालय, डडेल्धुराका प्रमुख नवराज रावलले भने, 'तोकिएको समयमा काम सम्पन्न हुने सम्भावना न्यून छ।' ठेकेदारको लापरवाहीकै कारण सडक स्तरोन्नतिमा ढिलाइ भएको उनले बताए। 

निर्माण कम्पनीले कोभिड–१९ महामारीलगायत कारण निर्माणमा ढिलाइ भएको जनाएको छ। सम्झौताको अवधि भित्रै काम सम्पन्न गर्ने प्रयास गरिरहेको निर्माण कम्पनीका प्रतिनिधि रोशन भट्टले बताए। दश किलोमिटरमध्ये आठ किलोमिटरमा सबै काम समयमै सम्पन्न हुने उनले दाबी गरे। पटक पटक ताकेता गर्दा पनि ठेकेदारले निर्माणमा चासो नदिएको  जोरायल–४ का वडाध्यक्ष नन्दराज भट्टको आरोप छ। नदी किनारमा तटबन्ध निर्माण नहुँदा स्थानीयको घर कटानको जोखिममा परेको उनले बताए। रासस

कमेन्ट लोड गर्नुस