त्रिदेशीय प्रधानमन्त्री कप फुटबल प्रतियोगिता हुने
काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गरेका छन्।
मंगलवार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्त्वपूर्ण रहेको बताएका हुन्। उनले खेलकुदले राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने बताए।
उनले भने, ‘अहिले नेपाल सरकारको तर्फबाट देशका सबै प्रदेशहरूमा, सबै पालिकाहरूमा पनि खेल पूर्वाधार निर्माण गर्ने सन्दर्भमा हामीले नीति,योजना र कार्यक्रम बनाएका छौँ। यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ, आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक रूपले बढी बजेट राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।’च्यासल रंगशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको छ।
रंगशाला १० हजार दर्शक क्षमताको रहेको छ। साथै अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो चैत ७ देखि १६ गतेसम्म प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ। काठमाडौंमा हुने प्रतियोगितामा भुटान र लाओस सहभागी हुने एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङले जानकारी दिए।