सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिवशिखरमा सुदूरपश्चिमका बचतकर्ताको डेढ अर्ब होल्ड

२०७९ फाल्गुन १४, ०६:३५ कमल सावद

धनगढीः सुदूरपश्चिममा शिवशिखर सहकारी संस्थाले कम्तिमा एक अर्ब ५० करोड रुपैयाँ तिर्नुपर्ने देखिएको छ। प्रदेशका विभिन्न शाखामा बचतकर्ताहरुले यो रकम जम्मा गरेका हुन्।

शिवशिखबर बहुउदेश्यीय सहकारीका विपद् व्यवस्थापन समितिका संयोजक भोजराज पौडेलका अनुसार प्रदेशका विभिन्न जिल्लामा एक अर्ब ५० करोड बढी रकम जम्मा छ।

बचतकर्ताको सबै रकम फिर्ता गर्न सक्ने अवस्थामा सहकारी छैन। संयोजक पौडेलले सहकारीमा देखिएको समस्या समाधान हुन कम्तिमा ६ महिना लाग्ने बताएका छन्। उनले भने, ‘सुदूरपश्चिममा हाम्रो लगभग एक सय ५० करोड होला। उद्योगहरु पनि सञ्चालनमा छन्। सुदूरपश्चिममा सहकारीको पनि ठुलो लगानी छ। सुदूरपश्चिममा मैले भनेको ब्यालेन्स सिट भन्दा बढी सम्पति छ।' 

धनगढीको कार्यालय सहकारी आफ्नै हो भने अन्य धेरै ठाउँमा आफ्नै कार्यालयहरु छन्। सहकारी भौतिक रुपमा स्ट्रोङ्ग रहेको सञ्चालकहरूले बताएका छन्।सञ्चालकहरूले भनेका छन्, 'विकास बैँकहरु मर्जका लागि आएका थिए। बैंकहरुमा तरलता अभाव थियो। हामीहरुमा थिएन्। छिटै हामी पुरानौ अवस्थामा फर्किन्छौँ।'

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सोमवारदेखि भने कार्यालय सञ्चालन गर्ने बताएको छ। देशमा भएको आर्थिक तरलताको अभावका कारण समस्या आएको सहकारीको दाबी छ। सानो–सानो रकमबाट बचत फिर्ता गर्ने सहकारीका अधिकारीले बताएका छन्।। दीर्घकालीन र अल्पकालीन योजनासहित कार्यालय सञ्चालन गर्ने पौडेलले दिनेशखबरसँग बताए।

सहकारी पुरानै अवस्थामा फर्किन ६ महिना लाग्ने बताइएको छ। देशभर ३६ वटा शाखा रहेको सहकारीमा भैरहवाबाट समस्या सुरु भएको थियो। तर, सुदूरपश्चिममा बचतकर्ताहरुबाट संकलन भएको रकम भन्दा बढी सम्पति रहेको दाबी सहकारीले गरेको छ। प्रदेशमा सहकारीको सम्पति धेरै भएकाले नआत्तिन पौडेलले बचतकर्ताहरूलाई आग्रह गरेका छन्। आइतवार धनगढीका बचतकर्ता र सहकारीबिच पाँच बुँदे सहमति भएको छ।


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस