सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका बचतकर्ता र शिवशिखरबिच पाँच बुँदे सहमति

२०७९ फाल्गुन १४, ०५:३९ कमल सावद

धनगढीः शिवशिखर सहकारी संस्था लिमिटेडले धनगढीका बचतकर्तासँग पाँच बुँदे सहमति गरेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीमा आइतवार दुई पक्षबिच भएको छलफलमा पाँच बुँदे सहमति भएको हो। आइतवार बिहानदेखि भएको छलफलपछि दिउँसो पाँच बुँदे लिखित सहमति भएको हो।

सहकारीका बचतकर्ता तथा वार्ता टोलीका संयोजक लोकेन्द्र लम्सालका अनुसार सहकारीका विपद् व्यवस्थापन समितिका संयोजक भोजराज पौडेल, प्रदेश प्रबन्धक, धनगढी शाखा प्रवन्धकको हस्ताक्षरसहितको पाँच बुँदे सहमति भएको छ। उनका अनुसार सहकारीका सुदूरपश्चिमका कर्मचारीको लतब सुविधासहितको विवरण, सहकारीले बैंकहरुसँग गरेको कारोबार, शिवशिखरको सम्पति विवरण र असुलीका लागि जिल्ला प्रशासन कार्यालय, सहकारी विभाग र बचतकर्तासहितको समिति गठन गर्ने र कार्यालय सञ्चालन गर्ने सहमति भएको हो।

बचतकर्ताहरुले शिवशिखबरका प्रदेश प्रबन्धक हेमराज जोशी र धनगढी शाखा प्रबन्धक बसन्ती जोशीलाई जिल्ला बाहिर जान स्थानीय प्रशासनको सहमति लिनुपर्ने व्यवस्थाको माग गरेका छन्।

शिवशिखबर सहकारीका अनुसार सुदूरपश्चिम प्रदेशका बचतकर्ताको सहकारिमा एक अर्ब ५० करोड बढी रकम जम्मा  छ। सहकारीका विपद् व्यवस्थापन समितिका संयोजक भोजराज पौडेलका अनुसार सोमवारबाट प्रदेशका विभिन्न शाखाहरु सञ्चालन हुनेछन्।

सहकारीमा अन्य कुनै समस्या नभए पनि देशमा भएको आर्थिक तरलताको अभावका कारण समस्या आएको उनको दाबी छ।

देशभर ३६ वटा शाखा रहेको सहकारीलाई भैरवाबाट समस्या सुरु भएको उनले बताए। उनले सुदूरपश्चिममा सहकारीका उद्योगहरुसमेत सञ्चालनमा रहेकाले बचतकर्ताहरुबाट संकलन भएको रकम भन्दा बढी सम्पति रहेको दाबी गरेका छन्। प्रदेशमा सहकारीको सम्पति धेरै भएकाले बचतकर्ताहरूलाई नआत्तिन पौडेलले अनुरोध गरेका छन्।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस