सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको प्रादेशिक आयुर्वेद चिकित्सालयमा उपचार गर्नेको संख्या बढ्यो

होमियोपेथी सेवा पनि सुरू हुँदै

२०७९ फाल्गुन ११, ०६:५८ नारायण अवस्थी

धनगढीः धनगढीमा रहेको प्रादेशिक चिकित्सालयमा उपचार गराउन आउनेको संख्या बढेको छ। आयुर्वेदिक उपचार सेवा सुरू भएसँगै दैनिक १८० बढी बिरामी चिकित्सालयमा आउन थालेका हुन्। बहिरङ्ग सेवा प्रदान गर्दै आएको चिकित्सालयमा पञ्चकर्म र पूर्वकर्म उपचार पनि सुरू भएको छ। चिकित्सालयमा चैतबाट भने होमियोपेथी सेवा सुरू हुने भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा रहेको आयुर्वेद चिकित्सालयले असोज ११ गते नयाँ भवनबाट सेवा सुरू गरेको हो। गत कात्तिक २६ गतेबाट पहिलो पटक पञ्चकर्म–पूर्वकर्म विधिबाट उपचार सेवा सुरु गरेको चिकित्सालयमा हाल दैनिक १८० बढी बिरामी आउन थालेका छन्।

कैलाली र कञ्चनपुरदेखि पहाडी जिल्लाबाट पनि बाथ रोग, पेट, छाला, नसा, पाइल्स, फिसर, फिस्टुला तथा प्रजनन् रोगको उपचार गर्न आउनेको बिरामीको संख्या बढेको चिकित्सालयका निमित्त निर्देशक डाक्टर खगेन्द्रबहादुर बमले बताए। 'अहिले दैनिक उपचार गर्न आउने बिरामीको संख्या बढ्न थालेको छ,' उनले भने, 'कैलाली, कञ्चनपुर र पहाडी जिल्लाबाट बिरामी आउने संख्या बढ्न थालेको छ।'

चिकित्सालयमा असोज महिनामा शिविर सञ्चालन गर्दा १ हजार १७४ महिला र ५२१ पुरुषले उपचार गरेका थिए। कात्तिकमा ५५६ महिला र ३८५ पुरुष उपचार गर्न आएका छन्। यस्तै, मंसिरमा ९ सय महिला र ७०५ पुरूषको उपचार भएको छ।

पुसमा भने उपचार गर्न आउनेको संख्या २ हजार ६१८ पुगेको छ। जसमा १ हजार ५७० महिला र १ हजार ४८ पुरूष बिरामी छन्। चिकित्सालयमा पञ्चकर्म-पूर्वकर्म गराउन दैनिक ३० जनाभन्दा बढी, ल्वाव परीक्षण गराउन २० जनाभन्दा बढी र बहिरङ्ग सेवा लिन १८० भन्दा बढी बिरामी आउने गरेका छन्। चिकित्सालयमा आउने बिरामीलाई निःशुल्क उपचार र औषधि वितरण गर्ने गरिएको डाक्टर बमले बताए। 'हामीले सबै उपचार सेवा निःशुल्क प्रदान गरिरहेका छौँ,' उनले भने, 'पर्चीको पनि शुल्क लाग्दैन।'

प्रदेश सरकारबाट ५० शय्याको स्वीकृति पाएको प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा नयाँ वर्षबाट अन्तरङ्ग सेवा सुरु गर्ने योजना छ। अहिले बहिरङ्ग, प्रयोगशाला र पञ्चकर्म-पूर्वकर्म सेवा दिइ रहेको चिकित्सालयले चैतबाट होमियोपेथी उपचार सेवा सुरू गर्ने भएको छ।'होमियोपेथी सेवा पनि सुरू गर्ने योजना छ। एक जना चिकित्सक तालिममा जानुभएको छ,' उनले भने, 'चैतबाट होमियोपेथी उपचार सेवा पनि सुरू हुन्छ।'

प्रादेशिक आयुर्वेद चिकित्सालयबाट वाथ रोग, नसा च्यापिएको, हड्डी खिइएको, पक्षघात र छाला सम्बन्धि समस्या भएका बिरामीको उपचार हुने गरेको छ।  निकट भविष्यमै फिजियोथेरापी, अकुपञ्चर र योग सेवा सञ्चालन हुने बताइएको छ।


 

 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस