डोटीको सेती नदीबाट विवेकशिल साझाको र्याफ्टिङ सुरु
समृद्धिका लागि शान्ति भन्ने नाराका साथ विवेकशिल साझा पार्टीले डोटीको सेती नदीबाट र्याफ्टिङ तथा जलयात्रा सुरु गरेको छ। धनगढीबाट हिजो डोटी पुगेको विवेकशिल साझाको टोली वान्डुरसैन स्थित सेती नदीबाट आजदेखि जलयात्रा सुरु गरेको हो। शान्ती विना विकासको कल्पना गर्न नसकिने भएकाले विद्रोह गर्ने पार्टीले बन्द हड्ताल, हिंसा छोड्नुपर्छ र राज्यले पनि संवाद मार्फत मुलुकलाई शान्तिमा लैजानुपर्छ भन्दै दबाब दिने उद्देश्यले सुरु भएको जलयात्रामा पार्टीको अभियान विभागका सुदूरपश्चिम प्रमुख विनोद मल्ल नेतृत्वको टोलीको सहभागिता रहेको छ। टोलीमा रमेश बोगटी, बिक्की ओझा दुर्गा, सुशदेव सिंह र तारा सिँह,कर्णाली र्याफ्टिङका अध्यक्ष बिष्णुप्रसाद जैशी, गाईड बलबहादुर राजी, कालुराम चौधरी लगाएत नौ जनाको सहभागिता रहेको छ।
वान्डुरसैनबाट सुरु भएको जलयात्रा कैलालीको खक्रौला नाका पुगेर सम्पन्न हुनेछ। जलयात्रीहरुलाई कैलाली आईपुग्न पाँच दिन लाग्ने अनुमान गरिएको छ। सो अवधीमा झण्डै साढे ३ सय किलोमिटरमा जलयात्रा हुने बताईएको छ। यसअघि हिजो धनगढीबाट र्याफ्टिङ टोलीलाई राष्ट्रिय झण्डा र पार्टीको झण्डा दिदै विवेकशील साझाका युवा संगठन संयोजक तथा केन्द्रिय सदस्य अब्दुस मिया र सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमालले संयुक्त रुपमा विदाई गरेका थिए।
विवेकशिल साझाले पछिल्लो समय देशमा सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विच देखिएको द्धन्द्धलाई वार्ताका माध्यमबाट समाधान गर्न रचनात्मक दबाब दिने र्याफ्टिङको उद्देश्य रहेको जनाएको छ। त्यस्तै र्याफ्टिङले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनमा समेत महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिईएको छ।