राष्ट्रिय प्रसारण लाइनमा जोडियो बैतडीको ’बाइमा’
धनगढीः बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर १ बाइम नेपाल बिद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। नेपाल बिद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन गाउँमा पुगेपछि स्थानीय खुसी भएका छन्। प्रसारण लाइन गाउँमा पुगेसँगै टुकी र सोलार बत्तीको भरमा मात्रै बस्नुपर्ने अवस्थाको अन्त्य भएको स्थानीय प्रदीपकुमार जोशीले बताए।
'गाउँमा बिजुलीको लाइन पुगेसँगै सबैले बत्ती जडान गरेका छन्,’ उनले भने, ’लामो पर्खाइपछि बिजुली पुग्दा सबै खुसी भएका छन् र गाउँमा पनि झिलिमिली भएको छ।’
सात वटा वडा रहेको डिलासैनीमा अझै धेरै बस्ती र टोलमा बत्ती पुग्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ। गत स्थानीय तहको चुनावमा सम्पूर्ण वडामा राष्ट्रिय प्रसारणको बिजुली पुगाउने एजेण्डासहित चुनाव जितेका गाउँपालिकाका जनप्रतिनिधिले चुनावी प्रतिबद्धताअनुसार काम गर्न थालेको जोशीले बताए।
यस्तै, वडा नम्बर ७ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बाइम टोलमा राष्ट्रिय प्रसारणको बत्ती पुगे र अब वडाका अन्य टोलमा लाइन बिस्तार गरिने बताए। ’अहिले बाइमसम्म लाइन पुगेको छ अब अन्य टोलमा पनि लाइन बिस्ता गर्छौँ,’ उनले भने, ’पोल र तारलगायतका सामानको अभावले काम गर्न केही समय लागेको छ, सबै बस्तीलाई राष्ट्रिय प्रसारणसँग जोड्न सामान ढुवानी र मजदुरको ज्याला र प्राविधिक खर्च गाउँपालिकाले नै व्यहोरिहेको छ।’
बिजुलीको अभावमा समस्या भोग्दै आएका स्थानीयले गाउँमा बत्ती पुगेसँगै नयाँ युगको सुरुवात भएको महसुस गरेको बाइमका अर्का स्थानीय रामदत्त जोशीले बताए। बिजुली पुगेसँगै जीवन सहज हुने उनको बुझाइ छ। डिलासैनी गाउँपालिकाले उज्यालो डिलासैनी अभियानअन्तर्गत पालिकामा बिद्युत् विस्तार भइरहेको जनाएको छ।