शान्ति र समृद्धिका लागि विवेकशिल साझाले सुदूरपश्चिममा र्याफ्टिङ गर्ने
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी समृद्धिका लागि शान्ति भन्ने नाराका साथ विवेकशिल साझा पार्टीले सुदूरपश्चिममा र्याफ्टिङ गर्ने भएको छ। शान्ति नै समृद्धिको आधार हो भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै विवेकशिल साझा पार्टी सुदूरपश्चिमले आउँदो चैत १७ गतेदेखी र्याफ्टिङ गर्ने जनाएको छ।
विवेकशिल साझा पार्टीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आउँदो चैत १७ गतेदेखी डोटीको वाल्डुरसैन देखी कैलालीको खक्रौला नाका सम्म जल यात्रा तथा र्याफ्टिङ गर्ने जनाएको हो। र्याफ्टिङ सञ्चालनका लागि संयोजनको जिम्मेवारी पाएका विवेकशिल साझाका विनोद मल्लले शान्ति नभई समृद्धि सम्भव हुदैन भन्ने सन्देश दिन र्याफ्टिङ सञ्चालन गरिएको बताए।
पछिल्लो समयमा देशमा सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विच देखिएको द्धन्द्धलाई वार्ताका माध्यमबाट समाधान गर्न रचनात्मक दबाब दिने पनि र्याफ्टिङको उद्देश्य रहेको मल्ले बताए। र्याफ्टिङले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनमा पनि भुमिका खेल्न विश्वास लिईएको छ। डोटीको सेती नदीबाट सुरु हुने जलयात्रा कैलाली पुग्न ५ दिन लाग्ने अनुमान गरिएको छ। सो अवधीमा करिब साढे ३ सय किलोमिटर जलयात्रा गरिने बताईएको छ। जलयात्रामा ३ जना गाईड सहित ६ जनाले सहभागिता जनाउनेछन्।