सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको एक विद्यालयमा ताला, एक वर्षदेखि विद्यार्थी खोला किनारमा पढ्न बाध्य

२०७९ माघ ९, ०७:०५ खबर संवाददाता

धनगढीः बैतडीको एक विद्यालयमा तालाबन्दी गरिएको छ। जिल्ल्लाको पञ्चेश्वर गाउँपालिका–१ शेरीस्थित गडदेव आधारभूत विद्यालयका विद्यार्थी एक वर्षदेखि खोला किनारमा पढ्न बाध्य छन्। २०७७ कात्तिमा ४ गतेको अविरल वर्षाका कारण आएको बाढीले विद्यालय भवन बगाएपछि विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य भएका हुन्। 

विद्यालय भवन भत्केको दुई वर्ष भईसक्दा पनि विद्यार्थीले बाहिरै बसेर पढ्नु परेको प्रधानाध्यापक निर्मला चन्दले बताइन्। ‘विद्यालयका भवन सबै बाढीले भत्कायो। अहिलेसम्म विद्यार्थीलाई जोखिममा राखेर खोला किनारमै पढाउन बाध्य छौँ’, उनले भनिन्। विद्यालय भत्केपछि आर्थिक वर्ष २०७७/०७८को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ४ कोठे भवन निर्माण गर्न ३६ लाख बजेट विनियोजन भएको थियो।

नयाँ भवन निर्माण भइसकेको छ। तर पूरै रकम भुक्तानी नभएको भन्दै भवनमा ताला लगाइएको छ। गाउँपालिकाका जनप्रतिनिधिहरुले विद्यालयमा मौखिक रुपमा व्यवस्थापन समितिसंँग सम्झौता गरेको निर्माणको जिम्मा पाएको केशव घटालले बताए। ‘जनप्रतिनिधि आएर मौखिक रुपमा सम्झौता गरे। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख रकम प्राप्त भएको छ, ४ कोठे भवन निर्माण गर्नुपर्छ भनेपछि समितिले भवन तयार पारेको हो, तर पूरै रकम भुक्तानी भएको छैन्, हामीले आफ्नो लगानीमा विद्यालय निर्माण गरेका छौँ, लिखित रुपमा सम्झौता भएन् पालिकामै के–के भयो, हामीलाई लिखित सम्झौताको प्रतिलिपि दिइएको छैन्’, उनले भने। 

यता, गाउँपालिकाका ईन्जिनियर घनश्याम मैनालीले भने सम्झौता अनुसारको रकम सबै भुक्तानी भइसकेको बताए। उनले  पालिकाबाट दिनुपर्ने सम्झौता अनुसारको रकम भुक्तानी गरिसकेको बताए।
 

कमेन्ट लोड गर्नुस