धनगढीको होल्डिङ सेन्टर जोखिममा, तटबन्धन गरिदिने विषय आश्वासनमै सिमित
धनगढीः धनगढीको गौरीफन्टा सीमा नाकाबाट आउनेहरूलाई लक्षित गरेर वडा नम्बर ३ को मोहना किनारमा होल्डिङ सेन्टर निर्माण गरिएको छ। प्रगति सामुदायिक वन र ज्योति सामुदायिक वनमा सरकारले एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गरेको छ। होल्डिङ सेन्टरको काम गत वर्ष नै सम्पन्न भएको थियो। तर, निर्माण सुरु गर्नपूर्व मोहना नदीमा तटबन्ध गर्ने मौखिक सहमति भने कार्यान्वय भएको छैन।
प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र सरकारी अधिकारी गएर स्थानीयसँग ठाउँ दिन आग्रह गर्दै मोहना नदी कटान रोक्न तटबन्धको योजना हाल्ने बताएका थिए। तर, तटबन्ध गर्ने आश्वासन पुरा नहुँदा मोहना नदी कटानको चपेटामा होल्डिङ सेन्टर पर्न सक्ने भन्दै स्थानीय चिन्तित भएका छन्। मोहनामा तटबन्ध नगरे बर्सादमा होल्डिङ सेन्टरको अस्तित्व नामेट हुने धनगढीका स्थानीय अशोक विष्टको आशंका छ।
‘मोहनाको डिलमै सरकारले करोडौं खर्चेर होल्डिङ सेन्टर बनाएको छ, तर नदीमा तटबन्ध अहिलेसम्म भएको छैन,’ उनले भने, ’तटबन्ध गरिएन भने मोहनाको बाढीमा होल्डिङ सेन्टर बग्ने खतरा छ।’ विश्वव्यापी कोरोना फैलिएको समयमा नेपाल सरकारले २०७८ बैशाखमा देशभरका मुख्य सिमानाकामा होल्डिङ सेन्टर निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। सेनाले गत वर्षको असारमा नै कैलालीको धनगढी र कञ्चनपुरको गड्डाचौकीमा भौतिक निर्माणको काम पूरा गरेको थियो।
सरकारले धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ को प्रगति र ज्योति सामुदायिक वन क्षेत्रमा ८ सय ८२ शय्या क्षमताको होल्डिङ सेन्टर निर्माण गरेको छ। मोहना नदी किनारमा होल्डिङ सेन्टर बनाउनुपूर्व नदीमा तटबन्ध गरिने भनिएको थियो। तर, भौतिक संरचना गत वर्ष नै बने पनि केही मिटर पर बग्ने मोहना नदीमा तटबन्ध गर्न कुनै सरकारले बजेट छुट्याएका छैनन्। जसका कारण मोहना नदीको बाढीको चपेटामा सिङ्गो होल्डिङ सेन्टर पर्नसक्ने भन्दै वडा नम्बर ३ का स्थानीय रामचन्द्र ढुङ्गानाले चिन्ता व्यक्त गरेका छन्।
‘मुख्यमन्त्री र मन्त्री आएर नदीमा तटबन्ध गरेर वन र होल्डिङ सेन्टर बचाउने छौँ भनेका थिए, हामी पनि खुसी भएका थियौँ,’ उनले भने, ’होल्डिङ सेन्टर बनेपछि तटबन्ध गरिएको छैन, तटबन्ध नबन्दा मोहनाले बर्सादमा सबै घर बगाउने खतरा छ।’ होल्डिङ सेन्टर निर्माण भएर अहिले नेपाली सेनाले रेखदेख गरिरहेको छ। खानेपानी, बिजुली शय्यालगायतका बन्दोबस्तीका सामग्री होल्डिङ सेन्टरमा राखिएको छ। तर करिव २० मिटर पर बग्ने मोहना नदीमा गर्ने भनिएको तटबन्ध नहुँदा होल्डिङ सेन्टरमा गरेको लगानी मोहना नदीले निल्न सक्ने जोखिम कायमै छ।
तटबन्ध गर्लान भनेर संरक्षण गरेको जङ्गलमा होल्डिङ सेन्टर बनाउन दिएको भए पनि सरकारी आश्वासन पूरा नहुँदा निराश भएको ज्योति सामुदायिक वनका अध्यक्ष सुशीला दाहालले बताए। ‘हामीले दुःख गरेर हुर्काएको वन मोहनाले बर्सेनि कटान गर्दै आएको छ,’ उनले भने, ‘होल्डिङ सेन्टर बनाउन दिए तटबन्ध गर्लान सोचेका थियौँ तर अहिलेसम्म कुनै काम नहुँदा न हामीसँग वन रहने भयो न त त्यत्रो लगानी गरेको घरहरू नै रहने भए भनेर चिन्ता लागेको छ।’
धनगढीको होल्डिङ सेन्टर निर्माण गर्न संघीय सरकारले २८ करोड ८१ लाख खर्च गरेको हो। महामारीको समयमा भारतबाट आउने नागरिकलाई राख्न निर्माण गरिएको होल्डिङ सेन्टर कुन प्रारूपमा कुन सरकारले सञ्चालन गर्ने टुङ्गो लागेको छैन। होल्डिङ सेन्टर निमार्ण मात्रै गरेर भवनमा मानवीय गतिविधि नभए संरचना जीर्ण हुँदै जाने हुन्छ। एकातिर भवन प्रयोग नहुँदै भत्किने चिन्ता गरिएको छ भने अर्कोतिर मोहना नदीमा तटबन्ध नहुँदा पूरै संरचना बग्ने चिन्ता गरिएको छ।
होल्डिङ सेन्टर निर्माण गर्दा तत्कालिन मुख्यमन्त्री, मन्त्री, प्रमुख जिल्ला अधिकारी र अन्य सरकारी अधिकारी गएर तटबन्ध गर्ने आश्वासन दिए पनि योजना भने परेको छैन। मोहना नदीमा करिव ६ सय मिटर तटबन्ध नगरे होल्डिङ सेन्टर मोहनाको बाढीले बगाउने जोखिम रहेको वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐरले बताए। ‘होल्डिङ सेन्टर निर्माणपूर्व मुख्यमन्त्रीसहितको सरकारी टोलीले मोहनामा तटबन्ध गर्ने आश्वासन दिएका थिए,’ उनले भने, ‘उक्त आश्वासन केवल आश्वासनमै सिमित भयो, तटबन्धको योजना परेको छैन,’ उनले अगाडि थपे, ‘तटबन्ध गरिएन भने मोहनाको कटानमा होल्डिङ सेन्टर पर्ने निश्चित छ।’