बैतडीका शर्मा थिए नेपालमा गाँजाका बादसाह, यसरी लाग्यो गाँजामा प्रतिबन्ध
धनगढीः बैतडीको ग्रामीण क्षेत्रबाट पैसा कमाउने आकांक्षा बोकेर २०२३ सालमा काठमाडौं छिरेका थिए देविदत्त शर्मा। उनले काठमाडौंमा होटल तथा गाँजा बिक्री केन्द्र खोलेका थिए। स्वदेश तथा विदेशमा गाँजाको व्यापार गर्ने शर्माको सरकारी अधिकारी तथा पुलिसमा समेत राम्रो पहुँच थियो।
देविदत्त शर्माले खोलेको इडन होटललाई नै हासिस सेन्टर बनाएका थिए। उनको गाँजा सेन्टरबाट गाँजा विदेश पनि निर्यात हुन्थ्यो भने गाँजा सेवन गर्ने उद्धेश्य बोकेर उनको होटल आउने हिप्पीको संख्या पनि निकै धेरै हुने गर्थ्यो। त्यतिबेला विदेशीका लागि ठमेलको कुनै अस्तित्व नै थिएन। हनुमान ढोका नजिकै रहेको झोछे नै विदेशीहरुको अड्डा थियो। गाँजा तानेर बस्ने सन्किहरुको थलो भएकोले यस ठाउँको नाम नै फ्रेक स्ट्रीट रहन गएको थियो।
अमेरिकामा हिप्पी संस्कृतिको सुरुवातले पनि नेपालको गाँजा व्यापारलाई बढाउने काम गरेको थियो। नेपालमा हिप्पीको प्रवेश अत्यधिक हुँदै गएको थियो। हिप्पीहरुको लागि नेपाल स्वर्ग बन्दै गएको थियो। हिप्पीको संख्या अमेरिकामा बढ्दै जानु, भियतनाम युद्धको विरोधको आवाज अमेरिकी युवामा बढ्दै जानु, भियतनाम युद्धमा रहेका अमेरिकी सैनिकहरुमा निराशाभाव बढ्दै गाँजा सेवनको लत बस्नु, जसले गर्दा भियतनाम युद्धमा अमेरिकाको हारको सम्भावना बढ्दै जानुले अमेरिकी सरकार गाँजा माथि कडाइ गर्न थालेको थियो।
भियतनाम युद्धको समयमा नेपाल माथि पनि गाँजामा प्रतिबन्ध लगाउन दबाब आउन थालेको थियो। २०२६ पुस २१ गते अमेरिकी उपराष्ट्रपति स्पाइरो एग्न्यू नेपालको बाइस घण्टे भ्रमणमा आएका थिए। देखावटी रुपमा अमेरिकी उपराष्ट्रपतिको यो भ्रमण सौहाद्रपूर्ण थियो। उनको नेपाल भ्रमण चन्द्रमामा लगिएको नेपालको झण्डा तथा चन्द्रमाको चट्टानको टुक्रा हस्तान्तरण गर्ने उद्येश्यले गरिएको भनेर प्रचार गरिएको थियो। तर, गोप्य रुपमा नेपालमा गाँजा प्रतिबन्ध गर्न दबाब दिनकै लागि उनको भ्रमण भएको थियो।
अमेरिकी सरकारको दबाबमा २०३० साउन १ गतेबाट गाँजा माथि प्रतिबन्ध लाग्ने सूचना सरकारबाट सार्वजनिक भइसकेको थियो। तर असार २५ गते सिंहदरवारमा भएको आगलागीले गाँजा प्रतिबन्धको योजना तत्काल सफल हुन भने सकेन।
सिंहदरवार मर्मतको लागि २१,००० हजार सहयोग गरेका देविदत्त शर्माको व्यापार त्यसपछि निरन्तर कायम रह्यो। तर जब २०३३ सालमा नेपालले गाँजा व्यापार, सेवन तथा उत्पादनमा प्रतिबन्ध लगायो। त्यसपछि भने देविदत्त शर्माको मात्रै ओरालो यात्रा तय भएन गाँजा पतिबन्धको असर नेपालको पर्यटन उद्योग र अर्थतन्त्रमै देखा पर्न थाल्यो।
गाँजा प्रतिवन्ध भएसँगै नेपालमा आउने पर्यटकहरुको संख्या ह्वात्तै घट्यो। गाँजा प्रतिबन्धसँगै देविदत्त शर्माको दिन पनि बिग्रदै गए। कुनै बेला काठमाडौंमा सबैभन्दा अग्लो घर बनाएर होटल इडन खोलेका शर्मालाई प्रहरीले दैनिक हैरानी दिन थाल्यो। प्रहरी प्रशासनले दैनिक जसो होटेल इडनमा छापा हान्न थाल्यो।
प्रहरी प्रशासनको ज्यादती खप्न नसकेर अन्ततः शर्मा भागेर दिल्ली पुगे। उनी त्यसपछि नेपाल फर्कन नै सकेनन्। शर्माको दिल्लीमा नै २०६५ सालतिर हृदयघातबाट मृत्यु भयो।
कुनै समयका नेपालको पर्यटन व्यवसायका सबैभन्दा शक्तिशाली तथा नेपालमा गाँजा व्यवसायका बादसाहका बनेका शर्माको पतन त भयो। तर अहिले औषधीको रुपमा समेत प्रयोग हुने गाँजा नेपाललाई प्रतिबन्ध लगाउन दबाब दिने अमेरिकाको कतिपय राज्यले खुला गरिसकेका छन्। यता भने नेपाल सरकार अझै पनि उहीँ पुरानो कानुनमा अल्झेको छ। नेपाल सरकारले यस बिषयमा फेरी एक पटक राम्रो अध्ययन पश्चात केहीँ कानूनी प्रक्रिया पुरा गरेर गाँजामा लागेको प्रतिबन्ध सीमित रुपमा खुला गर्नु आवश्यक देखिन्छ।
(यो लेख इतिहासका अध्येता सुनिल उलकको फेसबुक स्टेटसको आधारमा तयार गरिएको हो)