डडेल्धुराको सिरोडमा विद्युत् विस्तार
धनगढी: डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडमा लामो प्रयत्नपछि विद्युत् विस्तार सम्भव भएको छ। पश्चिम सेती जलविद्युत् आयोजनाको बाँध क्षेत्रको गाउँ सिरोडमा विद्युत् विस्तार गरिएको हो। साबिकको बेलापुर गाउँ विकास समितिको मुकाम खुनीमा २०६० सालमै विद्युत् लाइन विस्तार भएको थियो।
यद्यपि खुनीआसपासका गाउँ सिरोड, कटाल, काकाडपानी, खटौटे, चलकट्टे, इसलेकलगायतका गाउँमा विद्युत् विस्तार हुन दुई दशक लाग्यो। आर्थिक वर्ष २०७८÷७९ मा करिब ५० लाख रकमबराबरको ठेक्कापछि गाउँमा विद्युत् विस्तार भएको हो।
२०७८ अन्त्यमै विद्युत् विस्तार सम्पन्न गर्नेगरी दुई निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रामदिनेशराय यादवका अनुसार पोल गाडेर ठेकेदार बेपत्ता भएका थिए।
फोन सम्पर्क गरिए पनि ठेकेदार बेपत्ता भएपछि पत्रपत्रिकामा सम्झौता रद्द गरिने र निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने भनी सूचना प्रकाशित भएको थियो। त्यसपछि ठेकेदार सम्पर्कमा आएर विद्युत् विस्तार भइरहेको छ। अहिले विद्युत् विस्तार गर्न ३५ लाखबराबरको भिन्नाभिन्नै तीन स्थान तोकेर पुनः टेण्डर भएको कार्यालय प्रमुख यादवले बताए।