सुदूर नेपाललाई विश्वसँग जोड्दै

घुम्न जाउँ शुक्लाफाँटा

। फोटो स्रोत ।
२०७५ चैत्र १२, ०४:०९ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशको पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आउँदो चैत १५ गतेदेखि दोस्रो प्रदेश स्तरीय पर्यटन महोत्सव सञ्चालन हुने भएको छ। पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चैत १५ देखी २१ गते सम्म महोत्सव सञ्चालन हुने भएको हो। कञ्चनपुरको भीमदत्त नगरपालिकाको संयोजन, प्रदेश पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा नाटा सुदूरपश्चिमको समन्वयमा सञ्चालन हुने महोत्सवमा आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्जमा घुमाउने योजना बनाईएको छ।

नाटा सुदूरपश्चिमका अध्यक्ष माया प्रकाश भट्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउदै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए। महोत्सवका माध्यमबाट निकुञ्ज भित्र संरक्षित वन्यजन्तु, विशाल घाँसे मैदान, तालतलैया र दुर्लभ वनस्पतिका बारेमा सहभागीलाई जानकारी गराउने योजना बनाईएको छ। यो अवधीभर आन्तरिक र बाह्य गरी दैनिक ३ देखी ५ सय पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुमाईने महोत्सव मुल आयोजक समितिले जनाएको छ। छिमेकी राष्ट्र भारत सहित देशभरबाट धेरैले शुक्लाफाँटाको अवलोकन गर्ने विश्वास लिईएको छ। महोत्सवको  नारा ‘शुक्लाफाँटा भ्रमण गरौँ पर्यटन वर्ष २०२० सफल पारौँ’ भन्ने तय गरिएको छ।

 

यसले नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुग्ने अपेक्षा समेत गरिएको छ। विश्वमै दुर्लभ बाह्रसिंगाको सबैभन्दा ठूलो बासस्थान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रफलका हिसाबले सानो भए पनि ५४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको विशाल घाँसे मैदान रहेको छ भने बाह्रसिंगाको झुन्डले शुक्लाफाँटा भ्रमण गर्नेलाई मोहित तुल्याउने गरेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको छ।

 

 

कमेन्ट लोड गर्नुस