नौगाड गाउँपालिकामा विद्युतीय प्रणालीमार्फत हाजिरी, सिसिटिभीको निगरानीमा कर्मचारी
दार्चुलाको नौगाड गाउँपालिकाले पहिलो पटक विद्युतीय प्रणालीमार्फत हाजिरी लगाउन थालेको छ। जिल्लाका ९ वटा स्थानीय तहमध्ये नौगाड गाउँपालिकाले पहिलो पटक विद्युतीय हाजिरी लगाउन थालेको हो। कार्यालयमा कार्यरत कर्मचारीहरुले रजिस्टरमा हाजिरी अपडेट गर्नुपर्ने झन्जटबाट मुक्ति पाउन विद्युतीय हाजिरी ल्याइएको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताए। हाजिरीमा प्रत्येक कर्मचारीहरको नाम, सम्पर्क नम्बर तथा संकेत विद्यतीय मेसिनमा सेट गरेर राखिएको छ।
नौगाड गाउँपालिका कर्मचारीको फिंगर प्रिन्टका आधारमा हाजिरी अपडेट गर्ने प्रविधि भित्त्रयाउनेमा दार्चुला जिल्लाकै पहिलो स्थानिय तह हो। यसैगरी गाउँपालिकाले धुलीगडा स्वास्थ्य चौकी र वडा कार्यालयमा समेत विद्युतीय हाजिरी मेसिन जोडेको छ। भने स्वास्थ्य चौकी सिप्टीमा समेत विद्युतीय मेशिन जोड्ने तयारी गरिएको छ । सबै कर्मचारीको कामलाई प्रभावकारी ढंगले अघि बढाउने उद्देश्यले विद्युतीय हाजिर मेसिन जोडिएको अध्यक्ष धामीले बताए। गाउँपालिकाले गाउँपालिका भरीका सबै विद्यालयहरु, सरकारी कार्यालयहरुमा समेत विद्युतीय मेशिन जोड्ने तयारी गरेको छ।
यसैगरी नौगाड गाउँपालिकाले ८ ओटा सिसि टिभी क्यामरासमेत गाउँपालिकामा जडान गरेको छ। गाउँपालिकाका विभिन्न कक्षमा सिसि टिभी क्यामरा जडान गरिएकाले कर्मचारीको कार्यसम्पादन तथा सेवाप्रवाह प्रभावकारी हुने विश्वास गरिएको गाउँपालिका अध्यक्ष धामीले बताए। गाउँपालिकाको कार्यालयमा सञ्चालन गरिएको विद्युतीय हाजिरी अपडेट प्रणाली र सिसि टिभी क्यामरा छिट्टै गाउँपालिका अन्र्तगतका ६ ओटै वडामा समेत जडान गर्ने योजना रहेको उनले बताए। गाउँपालिकामा कार्यरत कर्मचारीहरुले निर्वाह गरेका काम कर्तव्य सिसि टिभी क्यामराको प्रत्यक्ष निगरानीमा हुने भएकाले कर्मचारीहरुले अनुसाशित र जिम्मेवारी पूर्वक काम गराउन सजिलो हुने उनको भनाई छ ।