सुदूर नेपाललाई विश्वसँग जोड्दै

योजनाबद्ध विकासको जग बसाल्ने काम भएको दाबी

प्रदेश सरकारको पहिलो कार्यकाल

२०७९ पुष २७, ०९:४७ नारायण अवस्थी

धनगढीः प्रदेश सरकारको पहिलो पाँच वर्षे कार्यकाल सफल भएको मुख्यमन्त्री भट्टले दाबी गरेका छन्। संघीयता कार्यान्वय गर्दै प्रदेशलाई आवश्यक पर्ने कानुन, नीति र कार्यविधि बनाएर अस्थिर राजनीतिक परिवेशमा पनि सुदूरपश्चिम प्रदेशले स्थिर सरकार पाउनु एक उपलब्धि भएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका हुन्।

पहिलो प्रदेश सरकारले संघीयता कार्यान्वयन गर्दै योजनाबद्ध भौतिक विकासको जग बसाल्ने काम गरेको भट्टले दाबी गरेका हुन्। भौतिक पूर्वाधार, पर्यटन, शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रमा पनि देखिने गरि काम भएको प्रदेश सरकारले निष्कर्ष निकालेको छ।मंगलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको पहिलो कार्यकालको प्रगतिबारे जानकारी गराएका हुन्। उनले आफू नेतृत्वको सरकार सफल भएको दाबी गरेका हुन्।

प्रदेश सरकारको प्रगति विवरण प्रस्तुत गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशले अस्थिर राजनीतिक परिवेशमा पनि स्थिर सरकार पाएको बताएका छन्। जसले गर्दा प्रदेश सरकारले सुरुमा तय गरेका लक्ष्यअनुरुप काम गर्न सकिएको मुख्यमन्त्री भट्टको तर्क छ।

'सुरुवातमा हामी अभाव र समस्याबाट अगाडि बढ्यो,’ उनले भने, ’राष्ट्रिय रुपमा राजनीतिक अस्थिरता भए पनि सुदूरपश्चिममा हामीले स्थिर सरकार दिन सफल भयौँ। हामीले सडक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, वन, वतावरण, योजनबद्ध विकासको जग बसाल्ने काम भएको छ।’

सुदूरपश्चिम सरकारले अभाव र अनुभवको कमिबाट पाठ सिक्दै जनताको पक्षमा काम गर्न सफल भएको मुख्यमन्त्रीले बताएका छन्। प्रदेशको पर्यटन विकास, जडिबुटी उर्जा, सडक तथा पुल निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारप्रति जनताले अपनत्व महसुस गर्ने हिसावले काम भएको सुदूरपश्चिम सरकारको दाबी छ। कानुन निर्माणदेखि योजनाबद्ध विकासका लागि आवधिक योजना बनाएर विकास गर्ने कार्यको थालनी प्रदेश सरकारको पहिलो कार्यकालमा भएको मुख्यमन्त्री भट्टले बताएका छन्।

'संविधानले परिकल्पना गरेको समन्वय, सहकार्य, र सहअस्तित्वको सिद्धान्तअनुरुप प्रदेशको सन्तुलित विकासका लागि संघीय सरकार र स्थानीय तहहरूसँग समेत समन्वय र सहकार्य गर्दै प्रदेश सरकारले काम गर्न सफल भएको छ। सरकार गठन भएदेखि प्रदेश सरकारलाई आवश्यक पर्ने कानूनहरूको निर्माण, प्रदेशको नामाकरण र राजधानी रहने स्थान तोक्ने काम भएको छ। सडक, खानेपानी, पुल, तटबन्ध, कृषि, पर्यटन, वनको क्षेत्रमा उल्लेख्य रुपमा प्रगति भएको छ,’ मुख्यमन्त्री भट्टले भने।

प्रदेश सरकारले सुशासन, मानव अधिकारको प्रत्याभूति गर्दै प्रदेशको सार्वजनिक मामिलालाई स्वच्छ, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र जनसहभागितामूलक बनाइएको सरकारले दाबी गरेको छ। कोभिड–१९ को सफल व्यवस्थापन, स्वास्थ्य क्षेत्रमा जनशक्ति उपकरण र भौतिक पूर्वाधार विकासमा पनि प्रदेश सरकारले सन्तोषजनक काम गर्न सकेको सरकारको निश्कर्ष निकालेको छ।

प्रदेशको शान्ति सुरक्षाको अवस्था मजवुत राख्न, प्रहरी कार्यालयको निर्माण, सिसिटिभी जडान तथा प्रदेशका पर्यटकीय क्षत्रको विकासका लागि आवश्यक काम गर्न सभफल भएको सरकारले बताएको छ।

यस्तै, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि प्रदेश सरकार काम गर्न सफल भएको दाबी गरिएको छ। आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न प्रदेशभर १२३ प्रसुति केन्द्र, ६६ वटा सहरी स्वास्थ्य केन्द्र भवन र ६३ वटा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण भएको सरकारले जनाएको छ। ग्रामिण अल्ट्रासाउण्ड सेवा, स्वास्थ्य बीमा कार्यक्रम, एम्बुलेन्स सेवा विस्तार, स्वास्थ्य उपकरण खरिद गरेर नागरिकलाई प्रदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकारले काम गर्न सफल भएको मुख्यमन्त्री भट्टले बताएका छन्।

प्रदेश सरकारको पहिलो पाँच वर्षे कार्यकालमा कृषि क्षेत्रको विकास गर्न सिँचाई सुविधाको विस्तार, शितभण्डार निर्माण, वीउ उत्पादन र कृषि यान्त्रिकरण तथा कृषि उद्योग स्थापना गर्न अनुदान दिएको सरकारले जनाएको छ। मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमलाई सरकारले कृषि क्षेत्रको सफल कार्यक्रम भएको दाबी गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस