उत्तर भारतमा शीतलहरको अत्यधिक प्रभाव
नयाँ दिल्ली: उत्तर भारतमा शीतलहरको प्रकोप बढेको अधिकारीहरूले बुधबार बताएका छन्।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार आगामी चारदेखि पाँच दिनसम्म देशको उत्तरपश्चिमी क्षेत्रमा बाक्लो कुहिरो र अत्यधिक चिसो दिनको अवस्था कायम रहनेछ।
उत्तर पश्चिम भारत र मध्य प्रदेशका धेरै भागहरूमा न्यूनतम तापक्रम दुईदेखि छ डिग्री सेल्सियसको बीचमा छ।
यसैबीच भारतको राजधानी दिल्लीको न्यूनतम तापक्रम बुधबार बिहान ४ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ। बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ २०० मिटरमा पुगेको कारण सडक र रेल यातायात प्रभावित भएको छ।
रेल सेवा अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले दिएको समाचारअनुसार कुहिरोका कारण दिल्ली आउने र यहाँबाट अन्य क्षेत्रमा जाने कम्तीमा १९ वटा रेल डेढदेखि साढे चार घण्टा ढिला भएको छ।