सुदूर नेपाललाई विश्वसँग जोड्दै

पीएम कप छनोट :बैतडीको लगातार दोस्रो जित

२०७९ पुष २०, ०७:१० कमल सावद

धनगढीः प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत बैतडीले लगातार दोस्रो जित दर्ता गरेको छ। सो क्रममा बुधबार बैतडीले डोटीलाई ७७ रनले हरायो। यसअघि मङ्गलबार बैतडीले अछामलाई ९० रनले पराजित गरेको थियो।

बैतडीले दिएको एक सय ४२ रनको लक्ष्य पन्छाएको डोटी १९ दशमलव एक ओभरमा ६४ रनमा अलआउट भयो। डोटीका लागि हिसिला खड्काले १६ र दिवेश्वरी ठकुल्लाले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कको रन बनाउन सकेनन्। बैतडीकी करिश्मा थापाले तीन र कप्तान रितु कनौजियाले दुई विकेट हात पारे।  
त्यसअघि फाप्ला मैदानमा पहिला ब्याटिङ गरेको बैतडीले १९ दशमलव दुई ओभरमा एक सय ४१ रनमा समेटिएको थियो। जसमा कप्तान रितु कनौजियाले २४ र सङ्गीता मौनीले अविजित १८ रन बनाइन् । डोटीकी दिवेश्वरी ठकुल्लाले चार र हिसिला खड्काले दुई विकेट हात पारिन्। 

प्रतियोगितामा सहभागी सात टोलीमध्ये शीर्ष दुईमा पुग्ने टोलीबीच पुस २३ गते फाइनल भिडन्त हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले बताए। प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ। उक्त टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ। नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २९ गतेदेखि इटहरीमा हुँदैछ।  
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस