कैलालीमा कर्मचारी र पदाधिकारीको मिलेमतोमा वन अतिक्रमण
धनगढी: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ को स्याउलेमा महेन्द्र राजमार्गको उत्तरतर्फ सुर्योदय सामुदायिक वन छ। यो वन क्षेत्र भएर खुटीया-दिपायल सडक जान्छ। महेन्द्र राजमार्ग छेउछाउ र खुटीया-दिपायल सडकको दायाँबायाँ हाटखोलीसम्म नै वन अतिक्रमण गरेर पसल, टहरा र छाप्रो निर्माण गर्ने क्रम तीव्र छ।
सुर्योदय सामुदायिक वनमा विभिन्न ठाउँबाट आएर टहरा निर्माण गर्ने क्रम बढेको स्थानीय बताउँछन्। हेर्दाहेर्दै वन क्षेत्रमा दर्जनौं टहरा र पसल निर्माण भएको, वन अधिकारीलाई गुनासो गर्दा पनि हटाउने काम नभएको स्याउलेका स्थानीय बलराम खड्काले बताए। 'यो सामुदायिक वनमा अतिक्रमण गर्न उक्साउने काम वनकै अध्यक्ष र सचिवबाट भएको छ। उहाँहरूले वनमा पसल बनाएका छन्। हामीले वनका हाकिम र अन्य कर्मचारीसँग धेरै पटक गुनासो गर्दा पनि अतिक्रमण हटाउने प्रयास भएको छैन,' उनले भने, 'वनका हाकिमसँग कुरा गरेपछि अत्तरियाबाट कुँवर सर आएका थिए। उहाँहरूले के हटाउथे। पैसा खाएर छोडे जस्तो लागेको छ।'
स्थानीयले वन कार्यालयमा फोन गरेर अतिक्रमण बारे पटकपटक अवगत गराउँदा पनि कुनै सुनुवाइ नभएको बताएका छन्। वन कर्मचारीकै इसारामा टहरा र छाप्रो बनाएर पसल राख्ने काम भइरहेको सर्वसाधारण बताउँछन्। अत्तरिया सव डिभिजनबाट वन कर्मचारी आए पनि अतिक्रमण हटाउने काम नभएकाले वन कर्मचारीसँगको मिलेमतोमा नयाँ नयाँ टहरा बन्ने क्रम जारी रहेको छ। सामुदायिक वनकै अध्यक्ष र सचिवले नै वन क्षेत्रमा टहरा बनाएर पसल राखेकाले अन्यलाई पनि वन अतिक्रमण गर्न हौसला मिलेको स्थानीयको भनाइ छ। तर, आफ्नो पसल वन क्षेत्रमा नभएर रोडको जग्गामा भएकाले वन अतिक्रमण नगरेको सामुदायिक वनका अध्यक्ष जगतरा सिंहले बताए। 'मैले वनमा पसल राखेको होइन। सडकको किनार नालीमा पसल राखेकी हुँ,' उनले भनिन्, 'सडकले हटाए हट्न तयार छु। तर मैलै वन अतिक्रम गरेको छैन। मैले वनको तार पनि काटेको छैन, रुख पनि काटेको छैन।'
कैलालीमा वन अतिक्रमणको केन्द्रविन्दुको रुपमा चर्चित गोदावरी नगरपालिकामा वनकै कर्मचारीले अतिक्रमणमा सहयोग गर्ने आरोप लाग्दै आएको छ। दैनिक हुने वन अतिक्रमणलाई वन कर्मचारीले नदेखे झै गर्ने गरेका छन्। सुर्योदय सामुदायिक वनको अतिक्रमण बारे बुझ्न अत्तरिया सामुदायिक वन कार्यालयमा जाँदा कुनै कर्मचारी भेटिएनन् भने डिभिजन वन कार्याल धनगढीका प्रमुख केसव पराजुलीले यो विषयमा बुझेर प्रतिक्रिया दिने बताए। तर, तपाईले अन्यलाई हटाएर वन संरक्षण गर्नुपर्नेमा आफैंले पसल किन बनाएको भन्ने प्रश्नमा सामुदायिक वनका अध्यक्ष सिंहले अरूलाई पनि हटाए आफू पनि छोड्न तयार रहेको बताए।'मैले यो ठाउँमा पसल किनेकी हुँ। २०६२ सालदेखि भएको अतिक्रमण हो। घरहरू पनि बनेका छन्,' उनले भनिन्, 'यहाँका स्थानीयले ठुला घर बनेका देख्दैनन्, मलाई मात्रै टर्चर दिन्छन्। वनले पनि हेरेको हो सडकले पनि हेरेको हो। मेरो पसल वनमा छैन।'
महेन्द्र राजमार्ग किनारको स्याउलेमा मात्रै दुई दर्जन बढी पसल र टहरा निर्माण गरिएका छन्। किसान सहकारीले वनको जग्गामा अढाई तले भवन बनाएर भाडामा लगाएको छ भने हाटखोलीसम्मको सरकारी वनमा पनि ठाउँ ठाउँमा घर पसल निर्माण गर्न ढुङ्गा, बालुवा र गिट्टी फाल्ने, खाबा गाडेर ठाउँ ओगट्ने काम तीव्र छ।
कैलालीको अत्तरिया सव डिभिजन वन कार्यालयका कर्मचारीको मिलेमतोमा गोदावरी नगरपालिकाका विभिन्न वनमा अतिक्रमण बढेको छ। अत्तरिया सव-डिभिजन वन कार्यालयअन्तर्गत पर्ने गोदावरी नगरपालिकाको विभिन्न क्षेत्रमा वन अतिक्रमण तीव्र छ।
गोदावरी नगरपालिकामा पर्ने विभिन्न सामुदायिक वन र सरकारी वनमा हुने अतिक्रमणमा वन कर्मचारीकै मिलेमतो हुने गरेको हो।
गोदावरी-८ को स्याउलेमा रहेको सुर्योदय सामुदायिक वनमा भएको अतिक्रमण हटाउन स्थानीयले पटकपटक अनुरोध गरे पनि अत्तरिया सव-डिभिजन वन कार्यालयले हटाएको छैन। वन कर्मचारीकै इसारामा सामुदायिक वनका अध्यक्ष र सचिवले वन क्षेत्रमा छाप्रो बनाएर पसल राखेका छन्।