भारतीय रुपैयाँ एसियामै सबैभन्दा खराब अवस्थामा
एजेन्सीः गएको वर्ष अर्थात् सन् २०२२ मा भारतीय रुपैयाँ १० वर्षयताकै कमजोर बनेको छ। गएको वर्ष अमेरिकी डलरको तुलनामा भारु ११ प्रतिशतभन्दा धेरैले कमजोर बनेको बीबीसी हिन्दीले जनाएको छ।
सन् २०२२ मा भारतीय मुद्रा सन् २०१३ यताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको हो। एसियाका मुद्राहरूमध्ये भारुको अवस्था सबैभन्दा कमजोर बनेको पनि भारतीय रिजर्भ बैंकलाई उद्धृत गर्दै खबरमा उल्लेख छ। २०२१ को अन्तिम दिन एक अमेरिकी डलरको मूल्य ७४ रुपैयाँ २९ पैसा थियो भने २०२२ को अन्तिम दिन ८२ रुपैयाँ ६१ पैसा पुगेको थियो।
यसरी एक वर्षभित्रै डलरको तुलनामा भारु आठ रुपैयाँ ३२ पैसाले कमजोर भएको छ। विदेशी मुद्रा बजारमा अस्थिरता, रुस–युक्रेन युद्धका कारण विश्वमा कच्चा तेल महँगो र महँगीका कारण भारु कमजोर भएको विज्ञहरूले बताएका छन्।
अमेरिकी डलर सन् २०१५ यताकै बलियो स्थितिमा देखिएको छ। मूल्यवृद्धि नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउनुपरेको थियो। जसका कारण डलरमा विदेशी लगानी बढ्दा डलर झनै बलियो बनेको छ।
भारु कमजोर र डलर बलियो बनेकै कारण गएको वर्ष विदेशी लगानीकर्ताले भारतबाट अर्बाैँ डलर बराबरको लगानी र नाफा अरू देशमा लगेका छन्।