सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनापुल–अत्तरिया ६ लेन सडक भत्कियो, कसले गर्छ मर्मत?

२०७९ पुष १८, ०९:२५ नारायण अवस्थी

धनगढीःमोहनापुल–अत्तरिया ६ लेन सडकको अधिकांश ठाउँमा भत्किने, भास्सिने र चिरा पर्ने समस्या देखिएको छ। निर्माण भएर हस्तान्तरण नहुँदै सडकको दर्जनौ ठाउँमा खल्टा पर्ने, भासिने र सडक सतह दब्बिने समस्या देखिदै आएको थियो। अहिले निर्माण कम्पनीहरूले सडक निर्माण गरेर सडक विभागलाई हस्तान्तरण गरेका छन्। तर, सडकको १४ दशमलव ६ किलोमिटरमध्ये अधिकांश भागमा समस्या आएको भन्दै निर्माण कम्पनीलाई सडक विभागले कार्य स्वीकार प्रतिवेदन भने दिएको छैन।

सडकमा निर्माण सम्बन्धि कामको सुक्ष्म अनुसन्धान भइरहेको सडक विभागले जनाएको छ। सडकको अवस्थाबारे अध्ययन प्रतिवेदन आएपछि  फागुनदेखि  निर्माण कम्पनीलाई नै सडक मर्मत कार्य गर्न लगाउने सडक विभागले जनाएको छ।

२०७४ जेठमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडको ठेक्का सम्झौता भएको थियो। १४ दशमलव ६ किलोमिटर लम्बाईको यो सडकलाई तीन खण्डमा ठेक्का लगाइएको थियो। पहिलो खण्डको ठेक्का शर्मा अमर नागार्जुन जेभीको थियो भने दोस्रो र तेस्रो खण्डको ठेक्का राजेन्द्र निर्माण सेवाले पाएको थियो।

दुई वर्षमा सबै काम सम्पन्न गर्ने भने पनि छैटौं वर्ष अर्थात गत असोजमा निर्माण कम्पनीले केही काम बाँकी छदै सडक विभागलाई ६ लेन सडक हस्तान्तरण गरिसकेका छन्। तर, मोहनापुलदेखि अत्तरियासम्म विभिन्न ठाँउमा सडक भत्किएको, दब्बिएको, चिरा परेको र खाल्टाखुल्टी परेको देख्न सकिन्छ। सडकमा थुप्रै ठाउँमा समस्या आएकाले कारण जान्न अनुसन्धान भइरहेको महाकाली पुल योजना कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर रामबहादुर गुरुङले बताए।

'धनगढीको ६ लेन सडक हेर्ने जिम्मा महाकाली पुल योजना कार्यालयलाई दिइएको छ। ६ लेन सडकमा धेरै ठाउँमा समस्या आएको छ। हाइस्पीड लेनमा सबै भन्दा बढी समस्या छ,’ उनले भने, ’किन समस्या आयो भनेर सडक विभाग र निर्माण कम्पनीका इन्जिनियरको टोलीले संयुक्त अध्ययन गरिरहेका छन्। एक हप्ता भित्र प्रतिवेदन दिनु भनेको छु। त्यसपछि कारण थाहा हुन्छ।’

६ लेन सडकको दुबैतर्फको हाइस्पिड लेनमा मात्रै होइन जर्सी बेरियर पछाडि पनि कालो पत्र उप्किन लागेको देख्न सकिन्छ। मोहनापुलको मुखैमा सडक भत्किन लागेको छ भने ट्राफिक चौराहादेखि गेटाको मत्स्य विकास केन्द्रसम्म धेरैजसो ठाउँमा सडक दब्बिएको, चिरा परेको र भाँसिएको छ। जसको कारण पानी पर्ने वित्तिकै सडकमा पानी जम्ने र जमेको पानी सडक भित्र पस्दा सडकमा थप क्षति हुनसक्ने इन्जिनियरहरूले बताएका छन्। तर, सडक विभाग र निर्माण कम्पनीको इन्जिनियरको टोलीले अध्ययन प्रतिवेदन बुझाएपछि आफ्नै खर्चमा निर्माण कम्पनीले मर्मत गर्नुपर्ने महाकाली पुल योजना कार्यालयका डिभिजनल इन्जिनियर गुरुङले बताए।

'एक हप्ताभित्र अध्ययन प्रतिवेदन बुझाएपछि मौसम अनुकुल भएसँगै फागुनदेखि सडक मर्मतको काम कम्पनीले नै गर्नुपर्ने छ। सडक हस्तान्तरण गरेर कार्य स्वीकार प्रतिवेदन मागेको छ। तर, हामीले कार्य स्वीकार प्रतिवेदन निर्माण कम्पनीलाई दिएका छैनौँ,’ डिभिजनल इन्जिनियर गुरूङले भने।

६ लेन सडकको काम हेर्ने जिम्मा अहिले महाकाली पुल योजना कार्यालयलाई दिइएको छ। सडकमा राखिएका जर्सी डिभाइडरले दुर्घटना हुन लागेको गुनासो आएपछि जर्सी डिभाइडर हटाउने विषयमा पनि सडक विभागमा प्रतिवेदन पेस भएको छ। सडक मर्मत कार्य निर्माण कम्पनीले नगर्दासम्म कार्य स्वीकार प्रतिवेदन दिन नसकिने डिभिजनल इन्जिनियर गुरुङले बताए। ६ लेन सडकमा समस्या आउनुको प्राविधिक पक्ष थाहा भएपछि निर्माण कम्पनीले मर्मत गर्नुपर्ने र मर्मतको काम सुरु भएपछि कार्य स्वीकार प्रतिवेदन दिन सकिने बताइएको छ।

१ अर्व ६८ करोड लागतमा निर्माण भएको मोहना पुल–अत्तरिया ६ लेन सडकको विभिन्न ठाउँमा निर्माण लगत्तै कैफियत आएको भन्दै सर्वसाधारणले खबरदारी गरेका थिए। तोकिएको भन्दा तेब्बर समय लगाएर प्रदेशको राजधानीमा निर्माण भएको सडक भत्किनुले अन्यत्र निर्माण हुने सडकको स्तर कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस