सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्षेत्रीय सहरी विकासले पुर्णता नपाउँदै सम्झौता अवधि सकियो, आधा काम अधुरै

२०७९ पुष १५, ०४:५० कमल सावद

धनगढीः क्षेत्रीय सहरी विकासमार्फत धनगढीमा १० दशमलव २५ किलोमिटर सडक निर्माणाधिन छ। एशियाली विकास बैँकको सहुलियत ऋण सहयोगमा भ्याट बाहेक ७६ करोड ९० लाख ७६ हजार पाँच सय ३६ रुपैयाँ ७  पैसाको लागतमा धनगढीमा सात सडक निर्माणको चरणमा छन्। सन २०२० जुलाई १२ तारिकमा कालिका कन्स्ट्रक्सनसँग धनगढीका सात वटा सडक कालोपत्रका लागि सम्झौता भएको थियो। सम्झौताको समय अवधि सकिएको छ। तर सडकको भौतिक प्रगति ५७ प्रतिशत मात्र देखिएको छ। कालिका कन्स्ट्रक्सनले सम्झौता रकमको ४२ प्रतिशत भुक्तानी लिइसकेको क्षेत्रीस सहरी विकासको तथ्यांक छ। 

धनगढीमा क्षेत्रीय सहरी विकासमार्फत गुल्म–चर्च सडक, ट्राफिक चौक–कैलाली नाला सडक, क्याम्पस गेट–चटकपुर सडक, जाखोर ताल सडक, धनगढी–खुटिया सडक, मालपोत र हसनपुर सडक कालोपत्र हुँदैछ। धनगढीको चौराहदेखि कैलाली पुलसम्मको मुख्य सडक निर्माणको काम भने अझै सुरु भएको छैन। धनगढीमा डसेम्बर अन्तिममा सडक निर्माणको समय अवधि सकिदैछ। 

कैलालीको गोदावरी नगरपालिकामा १६ दशमलव ५३ किलोमिटर सडक क्षेत्रीय सहरी विकास मार्फत कालोपत्रको चरणमा छ। गोदावरीका ६ वटा सडकको भौतिक प्रगति ६७ प्रतिशत देखिएको छ। गोदावरीमा पनि कालिका कन्स्ट्रक्सनसँग ५४ करोड ४३ लाख ९७ हजार ५८ रुपैयाँ ६० पैसामा सोही मितिमा सम्झौता गरिएको थियो। 

क्षेत्रीय सहरी विकास आयोजनाका इन्जिनियर सन्जिवकुमार शाहले गोदावरीमा पनि सडक निर्माणको काम जारी रहेको बताए। गोदावरी नगरपालिकाभित्र गेटा आँखा अस्पताल–जोनापुर सडक, गटा आँखा अस्पताल–लालपुर सडक, कत्था उद्योग–जोनापुर सडक, लालपुर–गौडी सडक, चौकीडाँडा–चख्लेखोला सडक र सृजना नगर सडक क्षेत्रीय सहरी विकासमार्फत निर्माण हुँदैछन्। 

त्यस्तै कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा पनि क्षेत्रीय सहरी विकासमार्फत सडक कालोपत्र हुँदैछन्। जिल्लाको भीमदत्त नगरपालिकामा १४ दशमलव १०४ किलोमिटर सडक कालोपत्रका लागि २०२० अप्रिल १२ तारीकमा सम्झौता भएको थियो। भीमदत्तमा २३ वटा सडक निर्माणका लागि जेठ–आई–इ–सी लामा जेभीसँग ९९ करोड १८ लाख ४४ हजार चार सय ४८ रुपैयाँ २४ पैसामा सम्झौता भएको हो। 

भीमदत्तका सडकको भौतिक प्रगति ५८ प्रतिशत पूरा भएको छ। निर्माण कम्पनीले सम्झौता रकमको ४५ प्रतिशत भुक्तानी लिएको क्षेत्रीय सहरी विकास आयोजना, धनगढीले बताएको छ। कञ्चनपुरको शुक्लाफँटा नगरपालिका क्षेत्रमा २७ करोड ८७ लाख ८७ हजार पाँच सय ६१ रुपैयाँ ११ पैसा लागतको चार दशमलव ७७ किलोमिटर सडक निर्माणधिन छ। क्षेत्रीय सहरी विकास आयोजनाले शुक्लाफाँटा नगरपालिका क्षेत्रका सडक रमन–केएस जेभी धनगढीले निर्माण गर्दैछ। 

शुक्लाफाँटामा सडकको ८६ प्रतिशत भौतिक प्रगति भएको छ। वित्तिय प्रगति ६५ दशमलव ३७ प्रतिशत रहेको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय, धनगढीका इन्जिनियर शाहले बताए। डिसेम्बर २०२२ को अन्तिमसम्म भौतिक र वित्तिय प्रगति बढ्ने उनको दाबी छ। क्षेत्रीय सहरी विकासमार्फत कैलाली र कञ्चनपुरका चार स्थानीय तहमा सञ्चालनमा रहेका सडकको झण्डै आधा काम बाँकी रहेको हो। सम्झौताको अवधि सकिनै लाग्दासमेत निर्माण कम्पनीहरुले आँधा काम गर्न बाँकी छ। बाँकी कामका लागि सम्झौता अबधि थप्ने तयारी भइरहेको आयोजनाले जनाएको छ।                                                                                                                                                                                


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस