धनगढीको विद्युत बक्यौता बढ्यो, ११ सय घरधुरीको लाइन काटिएपछि झण्डै तीन करोड असुली
धनगढीः धनगढीको विद्युत बक्यौता बढेको छ। धनगढी विद्युत वितरण केन्द्र अन्तर्गत ६७ हजार सेवाग्राही छन्। अधिकांश ग्राहकले समयमा विद्युत महसुल नतिरेकै कारण वितरण केन्द्र अन्तर्गत विद्युत बक्यौता रकम बढेको हो। प्राधिकरणले बाँकी बक्यौता रकम असुल गर्न एक हजार एक सय ८७ घरधुरीको लाइनट काटेको छ। विद्युत लाइन काटिएपछि झण्डै तीन करोड बक्यौता रकम असुली भएको छ।
विद्युत महसुल बढीमा ६० दिनभित्र तिरिसक्नुपर्ने प्राधिकरणको नियम छ। तोकिएको अवधिभित्र महसुल नबुझाउने ग्राहकको लाइन प्राधिकरणले बिना सुचना काट्ने नियममा उल्लेख छ। धनगढीमा चालु आर्थिक वर्षको हालसम्म एक हजार एक सय ८७ ग्राकको लाइन काटिएको हो। चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ठुलो संख्यामा विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटिएको धनगढी विद्यूत वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बताए।
प्राधिकरणले विद्यूत महसुल नबुझाउने ती सेवाग्राहीबाट तीन करोड ८७ लाख ७९ हजार २ सय रुपैयाँ असुल गर्नुपर्ने थियो। तर नौ सय १५ ग्राहकबाट मात्र दुई करोड ८४ लाख ९७ हजार नौ सय ३१ रुपैयाँ असुल भएको छ। प्राधिकरणले विद्युत लाइन काटेपछि मात्र सो रकम संलग्न भएर पुनः विद्युत लाइन जडान वाफत थप ७ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन भएको वितरण केन्द्रका प्रमुख मण्डलले दिनेशखबरलाई बताए।
धनगढी विद्युत वितरण केन्द्र अन्तर्गत मात्र करोडौ बक्यौता रकम उठाउन बाँकी छ। ६० दिनभित्र विद्युत महसुल नतिर्ने ग्राहकको प्राधिकरणले बिना सूचना लाइन काट्दै आएको छ। समयमा विद्युत महसुल नबुझाउने सेवाग्राहीको लाइन काट्न सुरु गरेपछि विद्युत बिल तिर्ने सेवाग्राहीको संख्या बढेको छ।