कैलालीका नागरिक डाँका समूहको निशानामा
धनगढीः कैलालीको भजनी नगरपालिका वडा नम्बर ७ चर्राका संजय सक्सेनाको घरमा मंसिर ८ गते राति १ बजे लुटपाट भयो। भारतको लखिमपुरबाट ६/७ जनाको समूहमा आएको डाँका समूहले पेस्तोल देखाएर सक्सेनाको घरमा लुटपाट गर्यो। सक्सेनाको घरबाट ५ लाख ८१ हजार बराबरको नगद र गहना लुटेर त्यो समूह फरार भयो।
यस्तै, आइतबार गोदावरी नगरपालिका–२ मा सशस्त्र प्रहरी बल मुख्यालय अगाडि सुखड र अत्तरियामा सुनचाँदी व्यवसाय गर्दै आएका विकास सुनारमाथि गोली प्रहार भयो। मोटरसाइकलमा सवार दुई जनाले सुनारलाई गोली प्रहार गरेका थिए। एक गोली छल्न सफल भए पनि अर्को गोली लागेर सुनार घाइते भएर लडे भने डाँका समूहले उनको साथमा रहेको ३५ तोला सुन लुटेर फरार भयो।
अत्तरिया गोलीकाण्डका आरोपीबारे कुनै क्लु नभेट्टिदै मंगरबार बिहान पौने तीन बजे डाँकाहरूको एक समूहले धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बङ्ग्राकटानमा घरमै घुसेर दुई राउण्ड गोली चलाएको छ। वडा नम्बर–९ शिवरामनगर टोलका स्थानीय प्रजापति बिष्टको घरमा रहेको अटो रिक्साको ब्याट्री चोरेर लगेको लुटेरा समूहको स्थानीयले प्रतिकार गर्दा उनीहरू भागेका थिए। लुटेरा समूहको प्रतिकार गर्दा आफूलाई प्रहार गरेको गोली चिप्लेर पिठ्युमा लाग्दा घाउ भएको बिष्टले बताएका छन्।
यसरी कैलालीमा एकपछि अर्को डाँका समूहबाट जिल्लावासी लुटपाट र गोली प्रहारको निशानामा पर्न थालेका छन्। जसले गर्दा नागरिकमा त्रास फैलिन थालेको छ। मंगलबार बिहान डाँका समूहले घरमै आएर चोरी गर्न लाग्दा आफूले प्रतिकार गरेकोले गोली प्रहार भएको स्थानीय प्रजापति बिष्टले बताए।
'राति चार–पाँच जनाको समूहमा थिए उनीहरू, नजिकै भाइको घरको ताला तोडेको थाहा पाउँदा म र छोरा बाहिर निस्किएका थियौँ,’ उनले भने, ’मेरो हातमा हँसिया थियो त्यसैले उनीहरूलाई हिर्काएपछि उनीहरूले म माथि गोली चलाएका हुन् तर चिप्लेर लाग्न पाएन पिठ्युमा सानो घाउ भएको छ।' बिष्टले अगाडि भने, 'उनीहरूले भाइको घरमा चोरी गर्न पाएन तर मेरो घरबाट भने रिक्साको चारवटा ब्याट्री लगेका छन्। गोली चलेको थाहा भएपछि स्थानीयले होहल्ला गर्दा उनीहरू भागेका हुन्। हामीले डरका कारण पिछा गर्न सकेनौँ।’
कैलालीको भारतसँग जोडिएको सीमावर्ती गाउँमा डकैतीका घटनामा वृद्धि हुन थालेको छ। सीमावर्ती बस्तीमा भारतीय डाँका समूहको त्रास बढेको स्थानीयले बताएका छन् भने सहरी क्षेत्र तथा राजमार्ग क्षेत्रका गाउँहरूमा पनि चोरी तथा डकैतीका घटना बढ्न थालेका छन्। पानी तान्ने मोटरदेखि घरमा पालेका खसी बाख्रा र कुखुरासमेत चोरी हुन थालेको सर्वसाधारणले गुनासो गरेका छन्।
धनगढी–९ मा भने विगतदेखि नै निरन्तर तस्करी र चोरीका घटना हुन थालेकोमा अहिले पनि कमी नआएको स्थानीयले बताएका छन्। भारतबाट निर्बाध रातभर तस्करी हुने अनि गाउँमा चोरी डकैतीका घटना हुने गरेको भए पनि प्रहरीले गस्ती नगर्दा असुरक्षा बढेको शिवरामनगर टोलका स्थानीय मदन धानुकले बताए।
'प्रहरीको गस्ती कहिल्यै घुम्दैन। हामीले पटकपटक चौकी चाहियो भनेर माग पनि गरेका छौँ,’ उनले भने,’ ’हिजो रातिको घटना हेर्दा, दोहोरो भिडन्त भएको छ। गोली हानिएको छ। त्यहीँ गोलीको आवाज सुनेर सबै उठेर आएका थियौँ।’ धानुकले अगाडि भने, 'हामीलाई सुरक्षाको एकदमै खाँचो छ, हामी असुरक्षित छौँ, बोर्डरको छेउमा बसेका छौँ। आज मात्रै होइन् यस्ता घटना धेरै भइसके।’
कैलाली जिल्लाभर प्रहरीको सक्रियता घट्दा अपराधिक घटना घट्नेक्रम नरोकिएको नागरिकको बुझाइ छ। जनताको जिउ धनको सुरक्षा गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका चौकी तथा कार्यालय विभिन्न स्थानमा स्थापना गरिएका छन्। तर, प्रहरीको ध्यान अपराध नियन्त्रणमा जान नसक्दा असुरक्षा बढेको लुटपाट तथा डकैतीका घटनाका पीडितले टिप्पणी गर्न थालेका छन्। यता, कैलाली प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने प्रहरीले सुरक्षा चुनौतीलाई गम्भीर रुपमा लिएको र सुरक्षा रणनीति बनाएर अपराधिक गतिविधि नियन्त्रण गर्ने बताएका छन्।
'गोली चल्ने, लुटपाट हुने कुराहरू हाम्रो लागि सुरक्षा चुनौति नै हुन्। यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ,’ उनले भने, ’हतियारको प्रयोगसमेत गर्न थाले भनेपछि यो एकदमै चुनौतीको विषय हो। तर, यो चुनौतीलाई सामना गर्न उपयुक्त सुरक्षा रणनीति बनाएर अघि बढ्छौँ।’
सीमा क्षेत्रमा तस्करी रोक्न र सीमा क्षेत्रमा हुने अपराध रोक्न सशस्त्र प्रहरीको बिओपी राखिएका छन्। यस्तै, विभिन्न ठाउँमा नेपाल प्रहरीका सीमा चौकी पनि छन्। तर, भारतबाट आउने डाँका समूह तथा नेपालभित्रकै अपराधिक गिरोह समात्न र कारबाही गर्न, दुबै प्रहरीले नसकेको नागरिकको गुनासो छ।
कैलालीमा एकपछि अर्को गोली प्रहार र लुटपाटका घटना बढ्न थालेका छन्। जिल्लामा प्रहरीको सक्रियता घट्दा डाँका समूहको निशानामा सर्वसाधारण पर्न थालेका हुन्। मुख्य राजमार्गदेखि सहरी क्षेत्र तथा ग्रामीण र सीमावर्ती क्षेत्रमा प्रहरी चलायमान नहुँदा गोली प्रहार, लुटपाट र तस्करीका घटना बढ्न थालेको जिल्लावासीले गुनासो गरेका छन्।