सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा धनगढीवाट हवाई उडान भर्न माग
सुदूरपश्चिमका तीन पहाडी जिल्लामा विमानस्थल निर्माणको काम सक्दै हवाई सेवालाई विस्तार गर्न माग गरिएको छ। धनगढीबाट अछाम हवाई सेवा सुरु भएको अवस्थामा अव बैतडीको पाटन, बझाङ देवल विमानस्थल र डोटीको दिपायल विमानस्थलको निर्माण सक्दै हवाई सेवा विस्तार गर्न माग गरिएको हो।
धनगढी विमानस्थल क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नतीको प्रयास चलिरहेका बेला पहाडी जिल्लाहरुमा पनि धनगढीबाट उडान भर्न माग गरिएको हो। अछामको साफेवगरमा समिट एयरले उडान सुरु गरेको छ तर अहिले सम्म तालिका भने बनाईएको छैन्। यस बाहेक वैतडीको पाटन, डोटीको दिपायल र बझाङको देवल विमानस्थल कालोपत्रेको कार्य भईरहेको छ। धनगढी हव बनाएर पहाडी जिल्लातिर पनि उडान गर्न सके पर्यटन प्रवद्र्धनका लागि सेतु सावित हुने डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकवहादुर खड्काको भनाई छ।
विमान कम्पनीहरु धनगढी केन्द्रित भईरहेका वेला अव उनीहरुलाई धनगढीबाट पहाडी क्षेत्रको सम्भावना देखाउन आवश्यक रहेको उनको भनाई छ। सुदुरपश्चिमका वासिन्दाहरुको क्रयशक्रि बढेकोमा अब पहाडी जिल्लाहरुमा पनि यात्रुहरुको कमि नहुने बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानवहादुर सुर्मेलीले बताए।
धनगढीदेखि काठमाडौँ जानका अहिले हप्ताको तीन दिन ५ वटा र बाँकी ४ दिन ४ उडान भईरहदा पनि पहाडी जिल्लाका यात्रुहरु, धनगढी सम्मको सडकयात्रा गरिरहेका छन्। तर क्षेत्रीय उडान भएमा उनीहरु आफ्नो पायक पर्ने ठाउँदेखि हवाई यात्रा तय गर्दै धनगढी आएर काठमाडँौ जान सक्ने भएकोले धनगढीदेखि पहाडी जिल्लाहरुको पनि हवाई यात्राको सम्भावना बढेको धनगढी विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाको भनाई छ।
हुन त, सुदुरपश्चिमका सवै जिल्ला सदरमुकाम सम्म सडक यातायात पुगेको छ। दैनिक रुपमा दर्जनौ सवारी साधनहरुले यात्रुहरुलाई ओहोर दोहोर पनि गराईरहेका छन्। तर अति आवश्यक कामका साथै विरामी पर्दा पनि धेरै समय लगाएर मात्रै गत्तव्य पुग्न सकिने अवस्था छ। हवाई यात्रा सामान्य सुविाधा जस्तै वनेकोले धनगढीदेखि विभिन्न जिल्लामा क्षेत्रीय उडान भर्न आवश्यक रहेको बैतडीको पाटन नगरपालिकाका मेयर केशववहादुर चन्दले बताए।
पहाडी जिल्लामा सडक यातायात पुगेसँगै हवाइ सेवाहरु बन्द गरिएका थिए, तर नागरिक उड्डयान प्राधिकरणले पहाडी जिल्लामा पनि हवाई यात्राको सम्भावना देखेर चालु आर्थिक वर्षमा तीन वटा विमानस्थल पिच गरिरहेको छ। धनगढी विमानस्थलमा उडानहरु थप भएसँगै पार्किङको अभाव भएकोमा अहिले पार्कीङ क्षेत्र विस्तारका लागि पनि ठेक्का भईसकेको छ।