सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेशियामा पहिरो २१ जनाको ज्यान गयो, उद्धारको काम जारी

२०७९ पुष २, ०६:०६ खबर संवाददाता

एजेन्सी: मलेशियामा पहिरो गएको छ।  सेलाङ्गोर राज्यस्थित एउटा पर्वतीय क्षेत्रमा पहिरो जाँदा बालबालिकासहित २१ जनाको ज्यान गएको छ। त्यहाँका अधिकारीहरूका अनुसार उनीहरू त्यहाँ बिदा मनाउन गएकाबेला पहिरो गएको थियो। 
बताङ काली नगरअन्तर्गत पर्ने सो स्थानमा शुक्रवार पहिरो गएको थियो। छुट्टी मनाउन गएका मानिसहरू पालभित्र सुतिरहेकाबेला पहिरो जाँदा पुरिएका थिए। सयौँ उद्धारकर्मीहरूले माटो खोतल्दै व्यक्ति खोज्ने र उद्धार गर्ने प्रयास गरिरहेका छन्।

सो मनोरञ्जनस्थलमा पहिरो जाँदा ९० जनाभन्दा बढी मानिस रहेको बताइएको छ। शिविर सञ्चालकले स्थानीय सञ्चारमाध्यमहरूलाई दिएको जानकारी अनुसार त्यहाँ कम्तीमा ३० बालबालिका र ५१ जना वयस्क रहेका थिए। स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार अझै १४ जना मानिस पहिरोमा पुरिएर बेपत्ता छन्।

खोजी र उद्धार कार्य जारी छ। शिविरभन्दा करिब ३० मिटर माथिको भीरबाट पहिरो खसेको थियो। शिविरमा बसेकी टे लिन सुआनले आफू र आफ्नी आमा बाँचे पनि आफ्ना एक भाइले ज्यान गुमाएको र अर्को भाइ घाइते भएर अस्पताल लगिएको बताइन्। 'हामीले पाल हल्लिएको महसुस ग¥यौँ र हाम्रो वरिपरि माटो खस्न थाल्यो,' उनले भनिन्। 'मेरी आमा र म घस्रिएर बाहिर निस्कियौँ र ज्यान जोगायौँ ।'

घटनामा परेर जोगिएका लिओङ जिम मेङले आफूले जमिन सर्नुअघि ठूलो विस्फोटको आवाज सुनेको बताए। त्यो आवाजले आफ्नो परिवारलाई बिउँझिएको तर पालबाट सकुशल निस्कनुअघि आफूहरू केही बेर पहिरोमै फसेको बताए। 
'निकै अँध्यारो थियो र त्यतिबेला के भइरहेको थियो भन्ने छुट्ट्याउन गाह्रो थियो' उनले भने।

प्रधानमन्त्री अन्वर इब्राहिम शुक्रवार अबेर पहिरो गएको स्थान अवलोकन गरेका छन्। अन्य मन्त्रीहरू पनि त्यहाँ पुगेका छन्। प्रधानमन्त्रीले सामाजिक सञ्जाल मार्फत मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। हराएका मानिसहरू सकुशल फेला परून् भनेर प्रार्थना गरेका छन्। पहिरोको कारणबारे अझै खुलेको छैन्। स्थानीयवासीहरूका अनुसार त्यहाँ हल्का वर्षा भएको थियो। 

कमेन्ट लोड गर्नुस